सरकारले प्रभावकारी ढङ्गले काम गर्न सकेन : कृष्ण सिटौला

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको बताएका छन् ।

सरकार, संसद, न्यायालय, संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका राज्य व्यवस्थाको समग्र मूल्याङ्कन गर्ने हो भने संविधानले परिकल्पना गरे अनुसार प्रभावकारी र निष्पक्ष ढङ्गले काम गर्न नसकेको पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाको भनाई थियो ।

शुक्रवार काठमाडौँमा आयोजित ‘राजनीतिक उपलब्धि र आजको चुनौती विषयक विचार गोष्ठी’ मा बोल्दै उनले राज्यका सबै निकायलाई ठिक ढङ्गले अघि बढाउनका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

नेता सिटौलाले काँग्रेसको आगामी मङ्सिरमा हुने नीति महाधिवेशनले मुलुकलाई अघि बढाउनका लागि ठोस योजना तय गर्ने दाबी समेत गरे । नेता सिटौलाले मुलुकमा एकपछि अर्को सङ्कट बढ्दै गइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुनका लागि सबै राष्ट्रसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

उनले अमेरिका, युक्रेन, रुस, इजरायललगायतका घटनाक्रमले नेपालमा एकपछि अर्को सङ्कट देखिएकाले त्यसबाट राष्ट्र र जनतालाई मुक्त गराउन सरकार, संसद, संवैधानिकले अत्यन्तै सचेत भएर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

नेता सिटौलाले भने ‘अहिले साँच्चै भन्ने हो भने संसदको मूल्याङ्कन गर्दा, सरकारको मूल्याङ्कन गर्दा, न्यायपालिकाको मूल्याङ्कन गर्दा, संवैधानिक निकायहरूको मूल्याङ्कन गर्दा, प्रहरी प्रशासनकै मूल्याङ्कन गर्दा यति बेला समग्रमा राज्य व्यवस्था, राज्य भन्नाले सरकार मात्रै होइन । समग्रमा राज्य व्यवस्थाको मूल्याङ्कन गर्ने हो भने संविधानले परिकल्पना गरे बमोजिम प्रभावकारी ढङ्गले, निष्पक्ष ढङ्गले काम गर्न सकेका छैनन् । सबै संस्थाहरूलाई नेपाली काँग्रेस पार्टीले नीतिगत निर्णय गरेर राज्य सञ्चालनको नयाँ दृष्टिकोण, नयाँ सोच, नयाँ व्यवहार स्थापित गर्न सक्नु पर्दछ भन्ने मलाई लाग्दछ । त्यसमा हामीले विस्तृत रूपमा छलफल गर्नु पर्छ भन्ने मलाई लाग्छ । आगामी मङ्सिरमा हाम्रो नीतिगत महाधिवेशन हुँदैछ । त्यसमा हामीले यस विषयमा डिटेल छलफल गर्ने नै छौँ । यसतर्फ हाम्रो ध्यान जान आवश्यक छ । अर्को कुरा म यहाँहरूलाई आग्रह गर्न चाहन्छु–अहिले विश्वको राजनीति फरक ढङ्गले विकसित भएको छ । युक्रेन युद्धबाट, इजरायलको घटनाबाट विश्वको राजनीतिको प्रभाव पनि नेपालमा परेको छ । यसका कारणले वा अन्य कारणले नेपालमा अनेकौँ समस्या नेपाली जनताले व्यहोर्नु परेको छ । कहाली लाग्दा समस्याहरू टरेर गएका छैनन्, बरु आउन थालेका छन् । त्यसैले त्यसैले ती सङ्कटबाट पार लगाउनका लागि सिङ्गो संसद, हाम्रो सरकार, सबै संवैधानिक निकायबीच अत्यन्तै सचेत भएर हाम्रा अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई चाहे छिमेकी होस् । वा टाढाका मुलुकसँगको होस् । सबैसँगको सम्बन्धलाई सन्तुलित ढङ्गले विकास गर्न थाल्नु पर्दछ ।’

नेता सिटौलाले मुलुकको अर्थतन्त्र सुधारका लागि पनि सरकारले विशेष कदम चाल्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *