कांग्रेसका ‘विद्रोही’ कार्की कोशीको मुख्यमन्त्री नियुक्त
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो ।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।
सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।
यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।