कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज शपथ लिने

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नवनियुक्त कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन् ।

मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।

कोशीमा आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी समेत रहेको छ ।

कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदले समर्थन गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै निवेदन दिएका थिए । उक्त हस्ताक्षरको सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

 

को हुन् कार्की
पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७ गते जन्मेका कार्की विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका हुन्।

मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं २ निवासी मुख्यमन्त्री कार्की सानैदेखि विद्रोही स्वभावका थिए। विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी सहयोगी एवं उपकारी स्वभावका छन्।

सुनसरीको जनता उच्च माध्यमिक विद्यालय मधेसामा अध्ययन गरेका उनी २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको एकाइ सभापति भएका थिए।

उनले उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट पूरा गरे। विसं २०५२ सालमा नेविसङ्घको क्याम्पस एकाइ सभापति भएका उनी त्यसपछि नेविसङ्घकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा केन्द्रीय सदस्यको भूमिकामा रहे। उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि छन्।

विसं २०७४ सालको आमनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं ६ ‘२’ बाट निर्वाचित कार्की २०७९ साल मङ्सिर ४ गतेको आमनिर्वाचनमा पुनः सोही क्षेत्रबाट कोशी प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। उनले पहिलो कार्यकालमा कोशी प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए।

उनले २०७८ भदौदेखि २०७९ पुससम्म कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाले। मन्त्रीका रुपमा उनले मन्त्रालयलाई बेरुजु मुक्त बनाउनेदेखि सङ्घीयतालाई संस्थागत गर्ने काममा खटिएका थिए।

स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नी, दुई छोरा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *