गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता सम्पन्न
पोखरा । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा सम्पन्न भएको छ ।
उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहेको थियो ।
पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा आयोजित उक्त प्रतियोगिता असोज २६ र २७ गते गरी २ दिनसम्म चलेको थियो ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गीता पोख्रेल लम्साल प्रतियोगिताको प्रमुख अतिथि रहेका थिए । साथै उक्त प्रतियोगितामा नेपाल राष्ट्र बैंक र बैंकर्सबिच मैत्रीपूर्ण खेल समेत सञ्चालन भएको थियो ।
प्रतियोगिताको महिला तर्फको फाइनल खेलमा नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई ४–० गोल अन्तरले विजेता बन्न सफल भएको थियो । त्यसैगरी पुरुष समूह तर्फ प्रभु बैंक लिमिटेडले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई १–० गोल अन्तरले प्रतियोगिताको विजेता बनेको थियो ।
प्रतियोगितामा महिला समूहतर्फ नेपाल राष्ट्र बैङ्ककी विनीता पराजुली र सकुन्तला सापकोटा तथा पोखरा फाइनान्सकी यमुना गुरुङले क्रमशः उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकको उपाधि जित्न सफल भएका थिए ।
प्रतियोगिताको पुरुषतर्फ प्रभु बैंकका रोहन खड्काले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सुजन के।सी।ले उत्कृष्ट गोलरक्षकको उपाधि जित्न सफल भएका थिए ।