एक किलोमिटर माथि सारिँदै मेलम्चीको मुहान
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको हो ।
एसियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त जानकारी दिए । एडिबी सो आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आउने पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ ।
उनकाअनुसार विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिनेछ । ‘बैंकले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नुपर्छ,’ प्रवक्ता पन्तले भने, ‘निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ। भौगर्भिक अध्ययन (डिपिआर) प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ ।’
कम्पनी छनोट भइसकेपछि हेडवर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न अनुमान गरिएको छ । नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डिपिआर निर्माणपछि मात्र स्पष्ट हुने उनको भनाई छ ।
मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिएपनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन । सुरुमा १५ अर्ब रुपियाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपियाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको सो आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन ।