राप्रपाले केदार कार्कीलाई विश्वासको मत नदिने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने निर्णय गरेको छ । कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । कोशीमा ६ दलका ९३ प्रदेश सभा सदस्य रहेका छन् । राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् ।
दलका नेता भक्तिप्रसाद सिटौलाका अनुसार केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन सम्मिलित बैठकबाट राप्रपाले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । ‘प्रदेशको पछिल्लो सत्ताको लुछाचुँडीको खेलमा राप्रपा सहभागी छैन ।’ उनले भने ‘हामीले मध्यावधिमा जाने भए रोक्न मदत गर्ने बताइरहेको हो । अब सबै दल सरकारमा जाने देखिएको छ । हामी मुख्यमन्त्रीलाई विश्वासको मतको विपक्षमा उभिन्छौँ ।’
अब कोशी प्रदेशमा राप्रपा मात्रै विपक्षी दल बन्ने देखिएको छ । सत्ता गठबन्धन इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय विपरीत काँग्रेस संस्थापन इतर पक्षका ८ सांसदले एमालेको साथ लिएर कोशीमा सरकार बनाएपछि केन्द्र विपरीत समीकरण बनेको छ । मुख्यमन्त्री कार्कीलाई माओवादीसहितका अन्य गठबन्धनका दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने एमाले त सरकारमै सहभागी भइरहेको छ ।
तर मुख्यमन्त्री सहित ९ मन्त्रालय रहेको काेशीमा भने एमाले एक्लैले ५ मन्त्रालय मागेपछि मुख्यमन्त्री कार्की दबाबमा देखिन्छन्। उनलाई एमाले रिझाउने र सत्ता गठबन्धन जोगाउनुपर्ने बाध्यता छ ।