एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान, महेशलाई रविनाको समर्थन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको हो ।
विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए रातिदेखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसीमा तोकिएको छ ।
अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्याशी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन् । अध्यक्षका प्रत्याशी तीनै जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।
डा. केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।
अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् । अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा. केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् ।
एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । ७४ पदका लागि संसारभरबाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुई जना बीच प्रतिस्पर्धा हुँदैछ ।
दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ । अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।