सन्दीपको पुनरागमनले टिम सन्तुलित भएको छ : कप्तान रोहित पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले टी-२० विश्वकप छनौटमा खेल्न तयार रहेको बताएका छन् । सोमबारदेखि सुरु हुने एसिया क्षेत्रको टी-२० विश्वकप छनौटअघि बोल्दै कप्तान पौडेलले नेपाल घरेलु मैदानमा खेल्न लागेकोले निकै उत्साहित रहेको बताएका हुन् ।
रोहितले राष्ट्रिय टिममा सन्दीप लामिछानेको पुनरागमनले टिमलाई सन्तुलित बनाएको बताउँदै खेल हुने दिनको अवस्था हेरेर प्लेइङ ११ छनौट गर्ने बताएका छन् । घरेलु कन्डिसनको फाइदा नेपाललाई हुने भन्दै आफूहरूले एक पटकमा एक खेलमा ध्यान दिएर खेल्ने बताए । कप्तान रोहितले मिडल अर्डरमा आफूसहित दीपेन्द्र सिंह ऐरी कुनै पनि पोजिसनमा खेल्न सहज रहेको भन्दै खेलको अवस्था हेरेर तलमाथि गरिरहेको तर्क गरे ।
प्रशिक्षक मोन्टी देसाईले नेपाली टिममा सन्दीपको पुनरागमनले सकारात्मक माहौल बनेको बताए । उनले नेपाली टिमले विश्वकप छनौटको तयारी राम्रो गरेको प्रतिक्रिया दिएका छन् । नेपाली टिमले पछिल्लो एक वर्ष राम्रो क्रिकेट खेलेको बताउँदै देसाईले टी(२० क्रिकेटका लागि चाहिने ‘टेम्प्रामेन्ट’ नेपाली खेलाडीमा रहेको बताएका छन् ।
एसिया क्षेत्रको टी-२० विश्वकप खेल्ने नेपाली टिममा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख (विकेटकिपर), विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।