साइरन बजाउँदै हिँड्ने प्रवृत्तिमा परिवर्तन कहिले ?
समय महत्त्वपूर्ण छ । समय समातेर समातिँदैन, रोकेर रोकिँदैन । जो समयअनुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । तर, हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्च पदस्थ कतै सवारी हुँदैछन् भने घण्टौँ अगाडिदेखि सवारी साधन आगमन निषेध गरिदिन्छन् । विदेशी पाहुना आउन लागे भनेपनि उही अवस्था छ ।
ट्राफिक जाम बनाएर सवारी साधन रोकेर राख्ने प्रवृत्ति हामीकहाँ विगतदेखि छ । जुन अहिलेपनि जारी नै छ । कुनै सर्वसाधारण अस्पताल हिँडेका हुन्छन् । कुनै बिरामी बोकेर घरतिर फर्किएका हुन्छन् । कोही कामका लागि घरबाट निस्किएका हुन्छन् त कुनै आफ्नो ड्युटीमा पुग्न दौडधुप गरिरहेका हुन्छन् । तर, यो कुरा सरकारले देख्दैन । कुनै उच्च पदाधिकारी सवारी हुनेबित्तिकै सर्वसाधारणलाई ट्राफिक जामको त्रासले सताउँछ । उसै त जाम हुने सडक, त्यहीमाथि सवारी । सरकारलाई घण्टौँ सवारी साधन रोक्दापनि कुनै फरक पर्दैन । अहिलेपनि राजाकै पालाको सिस्टम छ । विसं २०६५ सालअगाडि राजा सवारी हुनुभन्दा दुई घण्टा अगाडि सवारी साधनको आवतजावत रोकिन्थ्यो । हिँड्न पनि रोक लगाइन्थ्यो । बाटो पूरै खाली गराएर राजा सवारी हुन्थे । राजा हटाएर जनताको छोराछोरी राष्ट्रप्रमुख भए ।
उच्च पदमा पुगे । तर, सिस्टम परिवर्तन हुनसकेन । भूपू राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी त गणतन्त्रको राजा नै भइहालेँ । उनीहरू सवारी हुनुभन्दा दुई घण्टा अगाडि नै पूरा बाटो खाली गराइन्थ्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल अलिक फरक देखिएका छन् । उनी सवारी हुँदा एकतर्फीको बाटो खाली गराइन्छ । तर, साइरन बजाउने र सुरक्षाकर्मी दौडाउने क्रम जारी नै छ । अहिले पनि राष्ट्रपति सवारी हुँदा सयौँ सुरक्षाकर्मी परिचालन गरिन्छ । बाटोभरि सुरक्षाकर्मी उभाइएको हुन्छ । सुरक्षाकर्मी उभ्याउनु पर्योचाहिँ किन ? देखाउनका लागि ? छिमेकीले सीमा मिचेकोमिच्यै छन्, सुरक्षाकर्मी जति सबै उच्च पदस्थहरूको पछाडि खटिएका छन् । अनि सीमाको सुरक्षा कसले गर्ने ? देश ठूलो कि यिनीहरूको नौटङ्की ? सुरक्षाकर्मीलाई अगाडिपछाडि दौडाउनुको साटो सीमामा पठाए त छिमेकीले ज्यादती गर्न सक्दैन थिए कि ?
अन्यको पारा पनि त्यस्तै छ । प्रधानमन्त्रीदेखि लिएर विपक्षी दलका नेताको गाडीसमेत त्यसरी नै दौडिएको हुन्छ । यिनीहरूको गाडी हुइँकेको देख्दा सर्वसाधारणको सातो जान्छ । यताउता हेर्दैनन्, हुइँकाउँछन् । उनीहरूको गाडीले सर्वसाधारणलाई ठक्कर दियो भने कसले जिम्मा लिन्छ ? कहाँकहाँ न पुग्न लागेझैँ नेताहरूको गाडी हुइँकेको हुन्छ । आफूहरू व्यस्त छौँ भनेर देखाउनका लागि त्यसरी गाडी गुडाएका होलान् । तर, जनताले तिनका काम त देखिसकेका छन् । गाडी दौडाएअनुसारको रफ्तारमा काम गरेको भए आज देश कहाँ पुगिसक्थ्यो ? जति नै हतारो भएको देखाएपनि आखिर चिया खाने र एकअर्काको खुट्टा तान्नेबाहेक केही गरेका होइनन् । मुलुकको व्यवस्था परिवर्तन भयो । विडम्बना, राजाले ल्याएको व्यवस्थामा परिवर्तन हुन सकेन । अहिलेका नेताहरूले आफूलाई गणतन्त्रको राजा ठानेका छन् । जनताको सेवक हुनुपर्नेहरु शासक बनेका छन् । नेताहरू जनताका लागि काम गर्छौँ भनेर भाषण ठोक्छन् । तर, अहिलेसम्म के गरे ? जनताको हिजो जहाँ थिए, आज पनि त्यही छन् । जीविकोपार्जन गर्नै समस्या छन् । जनता खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । विकासको मूल फुटाउँछौँ भन्छन् तर कतै विकासको थोपो देखिँदैन ।
सभामुख देवराज घिमिरे साइरन बजाएर दौडिँदै संसद् भवन पुग्छन् । उनको गाडी हुइँकेको देख्दा कानुन बनाउन साह्रै हतारो भएझैँ लाग्न सक्छ । तर, अहिलेसम्म उनले कतिवटा विधेयक पारित गराउन सके त ? बर्सौँ बित्न लागिसक्यो, बल्लतल्ल मीटरब्याजको विधेयक पारित भएर कानुन बन्यो । करोडौँ तलबभत्ता खाइसके तर प्रगतिचाहिँ केही छैन । भूपू प्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको सवारी हुइँकेको देख्दा बालुवाटारमा ठुलै निर्णय हुन लागेकोझैँ महसुस हुन्छ । तर, के–के निर्णय गर्नु ? बालुवाटार जाने, गफ ठोक्ने अनि चिया खाने । अनि भन्छन्, ‘हामी मिटिङ बसेको ।’ यस्ताका त मिटिङ । कुन विषयमा मिटिङ बसिन्छ त थाहा छैन । यिनीहरूको सवारीका कारणले सर्वसाधारणले कति सास्ती पाउँछन् ? कतिपयको ज्यानमाथि नै जोखिम पर्न सक्छ । एक मिनेट मात्र ढिलो भयो भने बिरामीको ज्यान जान सक्छ । सरकारका कर्मचारीलाई फरक नपर्ला तर निजी कार्यालयमा काम गर्नेहरूलाई समयले निकै प्रभाव पार्छ ।
समयमा कार्यालय पुगेन भने जागिर जान सक्छ । तलब काटिन्छ । यो त सरासर गर्ने कोही र भर्ने कोहीको अवस्था भयो । नेताका कारणले जनतामा परेको क्षतिको भर्पाई कसले गर्ने ? बुढापाकाले भन्छन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि भत्काउँछ ।’ हामी कहाँ ठ्याक्कै त्यस्तै अवस्था छ । नेताहरू आफू त काम गर्दैनन्, अरूलाई पनि गर्न दिँदैनन् । हावा बोलेको भरमा उनीहरूले पो खान पाउँछन्, जनताले त पाउँदैनन् । सबैभन्दा धेरै वर्षा जेठ, असार र साउनमा हुन्छ । यो खेतीको सिजन हो । यतिबेला खेती गरेन भने वर्षको नौ महिना खान पाइँदैन । तीन महिनाचाहिँ रातदिन नभनीकन काम गरिन्थ्यो । तीन महिनाको दुःखले नौ महिना बसिबसी खान पुग्थ्यो । बुढापाकाले अहिले पनि भन्छन्, ‘बर्खाको बेलामा मान्छे नै मरेपनि छोपेर खेतीमा गइन्थ्यो । नभए त भोकले अरू सदस्य पनि मर्नुपर्थ्यो ।’
नेपाललाई कृषिप्रधान देश भनिन्छ । अब कृषिप्रधान होइन आयातप्रधान देश नामकरण गरे हुन्छ । असारको समयमा जनतालाई भेला गराएर भाषण ठोक्छन् । देशलाई कृषिमूलक बनाउने, विकास गर्नेलगायतका खोक्रो भाषण गर्छन् । यिनीहरू जुन कार्यक्रममा पुग्छन्, त्यहीबाट लखेट्नुपर्ने । किसानले मल पाइरहेका छैनन्, देशलाई कृषिमूलक बनाउँछु भन्दै हिँड्न यिनीहरूलाई लाज लाग्दैन ? लाज पचेकाहरूको विरोध गर्न अब जनताले सिक्नुपर्छ । कहिलेसम्म यस्ताको खोक्रो भाषण सुनिरहने ? बसमा सहचालक हुने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएर विकास हुन्छ ? चप्पल लगाउन नसक्नेहरू आज खर्बौँको मालिक बनेर बसेका छन् । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । नेता कस्ता हुन्छ ? यिनीहरूलाई थाहा छैन ? यिनकै कारण सच्चा नेताहरू बदनाम बनेका छन् । विश्वका धेरै मुलुक यस्ता छन् कि जो पूरै मरुभूमिले घेरिएको छ । तर, त्यहाँका नेताहरूले मरुभूमिलाई हराभरा बनाए । नेताहरूले मरुभूमिमा उब्जनी गरे । आफ्ना देशका नागरिकलाई आफैँले उब्जाएकोले खान पुर्याएका छन् । विकास गरे । गर्न चाह्यो भने सबै सम्भव छन् भन्ने उदाहरण विश्वका अधिकांश मुलुकले दिएको छ । नेपाल त प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश ।
उर्वर भूमियुक्त देश । जलस्रोतको दोस्रो धनी देश । विडम्बना, यहाँ नै सबैभन्दा धेरै खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । हरेक वस्तुमा नेपाल परनिर्भर छ । नेताहरूले भएका उद्योग, कलकारखाना पनि बन्द गराइदिए । मुलुकलाई गरिब देखाएर विदेशीबाट डलर ल्याउँदै खाने काम नेताहरूले गरे । अझैपनि सर्वसाधारण यिनीहरूको झोले बन्ने कि ? देश त सकाइहाले । आज नेपालीलाई नेपाली भन्न लाज लाग्छ । यो अवस्थामा पुर्याउने त नेता भनाउँदा दलालीहरूले हो । जलविद्युत मात्र निकाल्न सकेको भए आज नेपाल कहाँ पुगिसक्थ्यो । नेपालीलाई पहिल्यैदेखि किसान भनेर चिनिँदै आएको छ । नेताहरूले यो पनि देख्न सकेनन् । धमाधम जग्गा प्लटिङ गर्न दिइयो । नेताहरूले दुईटा काम गरे । पहिलो: जनतालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याइदिए । दोस्रो: देश बेचेर आफूहरूले मोजमस्ती गरे । नेपालीको आँखा अहिले नखुले कहिले खुल्ने ? नेताहरूले अलमलाइरहेका छन्, जनता तिनकै पछाडि लागिरहेका छन् । जनतामा चेतना नआएसम्म नेताहरूले घुमाइरहन्छन् । देशको विकास त कल्पनाबाहिरको कुरा हो ।
- भक्तपुरबाट अनुसा थापाको टिप्पणी