मकालु फिचर

जब एकदिन उनलाई आमाले भनिन् ‘तैँले त ठुलो काम पो गरेको रहेछस् बाबु, हामीले तँलाई बुझ्न चुकेछौँ’

उत्तम पुडासैनीले अमेरिकामा सबै कुरा पाए तर नेपाल पाएनन् ।  त्यसैले उनी  माटो खोज्दै नेपाल फर्किए । 

उनी सानै देखि सहयोगी थिए । काठमाडौं एयरपोर्टमा जन्मेका उनी सधैँ मनले मागेको काममा रुचि राख्थे । २०७०\७१ सालको कुरा हो । मानवअधिकारकर्मी सहित बागमती सरसफाइ अभियानमा उनी पनि संलग्न थिए । सरसफाइका क्रममा उनीहरूले वाग्मती नदी वरिपरि मरेका गाईहरू फेला पारे । सङ्ख्या दिनप्रति दिन बढ्दै गएपछि सबै मिली ती मरेका गाईहरूलाई गाड्ने योजना बनाए । त्यहाँ १०० भन्दा बढी गाई मरेका रहेछन् । तिनीहरूलाई गाड्दै गर्दा त्यस अवस्थाको बारेमा केही गर्ने निर्णय उनीहरूले गरेका थिए। 

तर २०७२ सालको ठुलो भूकम्पका कारण यस योजनालाई पूर्ण रूप दिन भने सकेनन् । योजना योजनामै सीमित रह्यो । 

यद्यपि पुडासैनीलाई भने वर्षौँपछि पनि त्यो घटनाले पिरोली रह्यो । मानव अधिकार कार्यकर्ता उनले पशुको यस्तो दयनीय अवस्था देखेपछि तीनको निम्ति पनि केही गर्नु पर्छ भन्ने अठोट गरे । तर उनलाई कहाँ बाट सुरु गर्ने भन्ने थाहा थिएन । पहिला त त्यसको कारण जान्नु थियो । त्यस क्रममा उनले पानीको खोजीमा गएका गाइहरू हिलोमै भासिएर निस्किन नसकेको, पानी पिउन पाए पनि फोहोर पानी पिएको कारण अनेक रोगहरूले सताउने गरेको अनि बास नपाई बाटोमा भौँतारिँदा अनेक गाडीहरूले ठक्कर दिएर भाग्ने गरेको जस्ता कारणहरू पत्ता लगाए । त्यसपछि उनी र मानव अधिकारकर्मीहरू मिलेर बाल्टिनमा पिठो र पानी लिँदै गाईहरूलाई खुवाउने अभियान सुरु गरे ।

 

तिनीहरूलाई एक छाक खुवाउन पाउँदा मात्रै पनि उनीहरूले आनन्द महसुस गर्थे । बिस्तारै ती गाई बाछाहरू ले पनि उनीहरूलाई चिन्न लागे । एक दिन त ती पछि पछि लाग्दै उनीहरूको घर सम्मै पुगे । केही उपाय नलागे पछि एउटा दुई चार वटा गाई अट्ने सानो सेल्टर उनले बनाए पनि । तर पछि लग्ने गाई बाछाको सङ्ख्या बढ्दै गयो । ती गाई बाछाहरूको सङ्ख्या बढ्दो भएता पनि उनीहरू सँग भएको जग्गाको सङ्ख्या भने थोरै थियो । तर हरेक प्राणीका आँखामा उनले दया र मायाको अपिल देख्थे । सुरक्षाको अपिल पनि हुन्थ्यो । उनलाई तीनका अपिल आफ्नै बालबच्चाहरूको अपिल जस्तो महसुस हुन्थ्यो । 

त्यस्तो हुँदा उनीले गाई बाछा कै लागि एउटा सेल्टर खोल्ने निर्णय गरे र आफूसँग पहिलैबाट जुटेका सहकर्मीलाई प्रस्ताव राखे । सबैले उनको कुरामा सहमति जनाएपछि सात जानको टोली मिली पशुपति विकास कोस  सँगको मौखिक सहमतिमा गोठाटारमा ‘असहाय गाई बाछा संरक्षण’ नामक सेल्टर बनाए । बिस्तारै धेरै ठाउँबाट उनीहरूलाई उद्धारका लागी फोन पनि आउन लाग्यो । सेल्टरमा गाई बाछाहरुको सङ्ख्या तीव्र गतिमा बढ्न लागे । तर ती उद्धार गरी ल्याइएको गाईहरूको हेरचाहमा भने समस्या आउन थाल्यो । हरेक दिन उनीहरूलाई खुवाउन पियाउन धौधौ पर्न थाल्यो । धेरैले उनीहरूलाई सरकार वा विदेशी निकायहरूको सहयोग लिन पनि सुझाव पनि दिए । तर उनी स्वयंसेवाबाटै केही गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त थिए । 

अफट्यारो अवस्थामा मित्रले पनि पीठ देखाउँछन् भन्ने भनाई पुडासैनीको सन्दर्भमा पनि साँचो साबित हुन पुग्यो । उनीसँग यस अभियानमा जुटेका सात सहकर्मी मध्य तीन जानाले उनको हात छोडिदिए । उनी झनै निराश भए । तर हरेश खाएनन् । उनी निरन्तर आफ्ना बालबच्चा (उनलाई जनावरहरू पनि बच्चाजस्तै लाग्छन्) को उद्धारका निम्ति लागी रहे । 

उनको दैनिकी पनि फेरिँदै थियो । हरेक दिन सबेरै उनी गोठमा गोबर सोर्न जान्थे । बस्तुहरूलाई चराउने देखि घाँस पनि आफै काट्थे । उनी र उनका सहकर्मी रातदिन नभनी उद्धार को लागि जुटिरहन्थे । यो उनको निजी दिनचर्या बनी सकेको थियो । 

उनको काम देखेर परिवारबाट पनि कुरा हुन थालेको थियो । आफ्नो छोराको त्यस्तो अवस्था देखेर एकदिन उनलाई आमाले भनिन् ‘ मेरो त जीवन गोबर भकारोमा बित्यो । बल्ल अलिकति सुख पाएको छु । तिमीलाई पढाए हुर्काएँ । ठुलो मान्छे बनाउँछु भन्ने सोचेको थिएँ । तर त्यही गोबर भकारो नै रोज्यौ है ।’ उनको बोलीमा निराशा थियो । 

उनी उनी स्तब्ध भए ।

उनको पीडा पनि स्वाभाविक थियो । छोराले रोजेको काम सहज थिएन । छर छिमेकीहरूलाई कसैले आएर उनको काममा कुनै सहयोग चाहिएको छ कि भनेर सोध्दा ‘ए लाएका छन् खाएका छन्’ भनी दिन्थे । यसो हुँदा सहयोग गर्न आएकाहरू पनि मन खोलेर सहयोग गर्न हिच्किचाउथे ।  

उनलाई पनि द्विविधाले नसताएको हैन । कहिले काई उनी यति काम मानव सेवाका लागी गरेको भए कति हाई हाई पाउँथेँ होला भन्ने सोच्थे । तर ती पशुहरूले न त धन्यवाद भन्न जान्दथे न त कृतज्ञता ज्ञापन गर्न नै । कसैले यो किन गरिराखेको भनेर सोध्दा उनी आत्मसन्तुष्टिको लागी भनी जवाफ दिन्थे ।

यस क्षत्रमा काम गर्न थालेपछि उनले जनावरको बारेमा सँगै मान्छेहरूको बारेमा पनि धेरै कुरा थाहा पाएका छन् । मानिसहरूमा पशुहरूको हितको विषयमा चेतनाको कमी भएको महसुस गरेका छन् । 

जनवार पनि प्राणी हुन् । उनीहरूको पनि बाच्ने अधिकार हुन्छ भन्ने चेतनाकै कमी भएकोले पशुहरूको यस्तो हालत हुन पुगेको हो भन्ने ज्ञात भएपछि उनीहरूले महायज्ञ गर्ने निर्णय गरे । वैशाखको २२ गते देखि २८ गते सम्म लागेको सप्ताहले धेरै मानिसको आँखा खोल्न मद्दत गर्‍यो । अरू त अरू उनकै आमाले पनि ‘तैँले त ठुलो काम पो गरेको रहेछस् , बाबु । हामीले तँलाई बुझ्न चुकेछौ’ भनिन् । 

आमाबाट आएका यी चार शब्दले उनको आँखा रसाए । बल्ल आफूले मानिसमा चेतना जगाएको उनलाई महसुस भयो । 

बिस्तारै मानिसहरूले उनीहरूको धारण बुझ्न थाले । यत्रतत्र गाईबाछाहरुको बिचल्ली भएको देख्दा हिजोसम्म आँखा चिम्लिएर हिँड्ने हरूले फोन गरेर जानकारी दिन लागे । जन्म दिन मनाउन दुई पोका पिठो लिएर गोठ आउन लागे । सहयोग भन्दै परालहरू दिन लागे । यसरी  बिस्तारै उनीहरूको अभियानले स्वरूप लिन लाग्यो । 

सरकारले यी विकासलाई विकास मान्दैनन् । तर उनको लागी विकास भने यिनै साना कुरा बाट सुरु हुन्छ । उनीले आवाज विहीनहरूको आवाज भएर नै  यस बारे सरकारलाई सचेत गराउने  काम गरिरहेका छन् । 

के भन्छन् सँगै काम गर्नेहरू ?

विकास थापा असहाय गाई बाछा संरक्षणका सदस्य हुन् । पहिल्यै देखि दीन दु:खी देख्दा आफूले केही गर्न पाए हुन्थ्यो भन्ने करुणाको भावना आफूमा रहेको उनी संझन्छन् । बाग्मती सरसफाइ अभियान देखि नै उनी पुडासैनी सँग गाईको उद्धार मा जुटिरहेका थिए । एम्बुलेन्सको सुविधा हुनु भन्दा अगाडि उनीहरू गाडी भाडामा लिएर अचेत गाईबाछाहरुको खोजीमा निस्किन्थे । त्यही क्रममा एक दिन गाईलाई उद्धार गर्दै गर्दा एक व्यक्तिले ‘यसलाई कता लगेर खाना लागेऊ’ भनी सोधे ।

त्यसले उनलाई पीडा दियो । मन ढक्क फुलेर आयो । उनी भक्कानिए । त्यस घट्नाले उनलाई धेरै समय पिरोल्यो । एम्बुलेन्स आएपछि पनि कतिपय मानिसहरूमा बुझाइ कम रहेको उनको अनुभव छ । पशुको एम्बुलेन्स भएका कारण बाटो छोड्नुको सट्टा झनै पेलेर अगाडि जाने जस्तो गर्ने मानिसहरू सडकमा देख्दा मानिसमा मानवता हराए कै हो त ? भन्ने प्रश्न आउनेगरेको उनी सुनाउँछन् । 

उनले एक चोटिमा ३५ वटा बाच्छासम्म उद्धार गरेका छन् । यो एक चोटि मात्रै नभएर धेरैपल्ट भइसकेको छ । कतै कतै त एकै ठाउँमा १० देखि १५ बाछाहरूको हुल फेला पार्थे । दूधको लोभले बाछाहरूलाई आमाबाट छुटाई बाटामा छोडिदिने प्रवृत्ति व्यापक रहेको उनी बताउँछन् ।

दिनभरी अन्त काम गरेर पनि गोठमा आउँदा उनी छुट्टै सन्तुष्टि महसुस गर्छन् । उद्धार गर्न जाँदा हरेक दिन भावुक हुन्छन् । आज यति  उद्धार गरियो भन्ने कुराले मात्रै उनलाई चैनको निद्रा आउँछ । बिरामी भएर दुई तिन दिन गोठमा आउन नपाउँदा पनि तिनले के खाए होलान् , के गरे होलान् भन्ने कुराले पिरोली रहन्छ । 

नेपालमा पशु र कृषि क्रान्ति गर्न जरुरी रहेको उनी बताउँछन् । कृषकहरूको उत्थान भए पशुको पनि उत्थान हुन्छ भन्ने उनलाई लाग्छ । बाछाहरूको यस्तो बिचल्लीलाई न्यूनीकरण गर्नका लागी सरकारले भाले नजन्माउने औषधी भित्राउन जरुरी रहेको पनि बताउँछन् । 

‘यो काम गर्दा कस्तो महसुस हुन्छ नि ?’ म उनलाई सोध्छु ।

यो त हजार जिब्रो भएका शेष नागले पनि बयान गर्न सक्दैनन्’  उनी मुस्कुराउँदै भन्छन् । 

विकास जस्तै भगवान् पुडासैनी पनि असहाय गाई बाछा संरक्षणका अर्को सदस्य हुन् । उनी पहिले स्टेशनरी चलाउँथे । आफ्नै व्यवसाय भएका हुनाले फुर्सदको समय समाज सेवामा जुटिरहन्थे । बिस्तारै उनको मन यतै तिर लाग्न लाग्यो । उनले यसमै खुसी पाउन लागे । पछि उनले स्टेशनरी पनि बेचे र समाज सेवामै तल्लीन हुन थाले । उनले धेरै गाई बाच्छाहरूको उद्धार गरे । त्यही क्रममा एक दिन उनले थुनिलो गाईलाई लिएर आए । धेरै प्रयास पछि पनि त्यसलाई बचाउन धौ धौ पर्यो । उपचारको क्रममा गाइलाई उचाल्ने मेसिन नभएको कारण समस्या भएपछि उनीहरूले पशुलाई उठाउने मेसिन पनि ल्याए । तर लाखौँ प्रयास पछि पनि बचाउन भने सकेनन् । आफ्नै अगाडि गाई मृत्युको सिकार भएको देख्दा उनलाई आफ्नै इष्टमित्र को मृत्यु भए सरि घोच्यो । आफूले उद्धार गरेर लाएको गाई बाच्छालाई बचाउन नपाउँदा उनको मन कटक्क खान्छ । उद्धारको क्रममा गाडीमा हाल्न सहयोग गर्दिनु न भन्दा मान्छेहरूले छि छी र दुर् दुर्  गरेको देख्दा उनलाई समाज कता बाट कता गइरहेको छ भन्ने कुराले चिन्तित बनाउँछ । 

खाना,छाना, उपचार र माया दिन भनी बनाइएको असहाय गाई बाछा संरक्षणमा हाल डेढ सय गाईबाच्छाहरु छन् । उनीहरूका उपचारका लागी छुट्टै डाक्टर पनि राखिएको छ । आर्थिक सहयोग भन्दा पनि खाना र दानाको सहयोगमा उनीहरू खुसी हुन्छन् । हालै उनीहरूले ‘एक दिन एक बिरुवा’ भनी धर्ती जोगाउ अभियान पनि  सुरु गरेका छन् । 

पशु कल्याणका लागी लड्दै गर्दा अनेकौँ संघर्ष गर्नुपरेता पनि अबको दस वर्षमा जनवारलाई हेर्ने दृष्टिकोण बदलिने कुरामा आशावादी रहेको यी तीनैजना सदस्यहरू बताउँछन् । मानिसहरू पहिले भन्दा अहिले पशु कल्याणका बारेमा धेरै सचेत भइसकेका र अब आउने दिनहरूमा पशु कल्याण मात्र नभई पशु अधिकारको बारेमा पनि कुरा गरिने छ भन्ने कुरा मा उनीहरू निर्धक्क छन् । 

‘भएन भने ?’ म सोध्छु । 

‘त्यसैको निम्ति हामी लडिरहेका छौ र लडी नै रहने छौँ ।’ 

उनीहरू गर्वमा साथ बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *