महिना दिनमै किन बन्दभयो द्रुत बस सेवा ?
काठमाडौँ । भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अवसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा महिना दिनमै बन्द भएको हो ।
द्रुत बस भनिएपनि ट्राफिक जामका कारण समयमै गन्तव्यमा पुग्न सकिरहेको थिएनन् । यो बस सेवा नेपालमा आवश्यक भएपनि पर्याप्त तयारीबिना सुरु गर्दा निरन्तरता पाउन नसकेको कतिपयको भनाई छ । तर सरकारी निकायले भने तिहारपछि बस सेवा सहज रूपमा सञ्चालन हुने दाबी गर्दै आएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनः सञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए । द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ । असोज ३ देखि द्रुत बस नमुना परियोजनाका रूपमा सेवा सुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात व्यवसायीले त्यसको अनुभव लिएका छन् । सेवा सञ्चालनका क्रममा देखिएका समस्याहरू हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका छन् । द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए । रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरू द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने उनको भनाई छ ।सडक
विभागका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । सङ्घीय राजधानी काठमाडौँको जाम कम गर्ने, निजी सवारीसाधन नभएका नागरिकलाई सार्वजनिक सवारी साधनमा आकर्षित गर्ने उद्देश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।
रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने/ओराल्ने व्यवस्था गरिएको थियो ।