सशस्त्र प्रहरी बल नेपालद्वारा नेपाल भारत सीमा स्तम्भको मर्मत कार्यको सुरुवात

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले नेपाल भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरुवात गरेको छ ।

मर्मतको सुरुवात बिहीबार मधेस प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो ।
सीमा स्तम्भ मर्मतको सुरुवात गर्दै नायव महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बीचको सम्बन्ध थप मजवुद बनाउन योगदान पुर्याउने समेत बताए ।

उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भई सकेकाले आगामी दिनहरूमा निरन्तर रूपमा मर्मत कार्य सुचारु रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत बताए ।

उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रूपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरिसकेको र सोही अन्तर्गत गत कार्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेस प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराएका थिए ।

नेपाल भारत को पाँचौँ बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बलले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो

नेपाल सरकार मन्त्री परिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य सुरु गरिएको हो ।

पहिलो चरणमा मधेस प्रदेशमा रहेका १ हजार भन्दा बढी सीमा स्तम्भहरूको मर्मत हुनेछन् ।

सो कार्यक्रममा धनुषास्थित नगराइन नगरपालिकाका प्रमुख विनय कुमार यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय सशस्त्र सीमा बलका डिपुटी कमाण्डेन्ट सन्तोष कुमार निमोरिया, नापी विभागका अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा स्थानीय भद्रभाद्मीहरुको समेत उपस्थिति रहेको थियो ।

यसैगरी आजैबाट मधेस प्रदेशका सिराहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरूमा समेत सीमा स्तम्भहरूको मर्मत कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *