(अपडेट) भूकम्पमा परी जाजरकोट र रुकुममा १२९ जनाको मृत्यु
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २९ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो ।
५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको छ । ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ,’ प्रवक्ता कडायतले भने । थप विवरण संकलन हुँदैछ ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३७ जनाको मृत्यु भएको छ । यहाँ ८५ जना घाइते भएका छन् ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा समस्या भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ । त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ । दुवै जिल्लाका अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।