तत्काल उद्धारमा जुट्न सभामुख र राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गरेका छन् । उनले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गरेका हुन् ।

सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।’

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरूको राहत र उद्धारमा जुट्न आग्रह गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ ।विज्ञ प्तिमा भनिएको छ, ‘प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।’

कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुगेको छ । उनले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *