राहत वितरणमा सरकारको ढिलासुस्ती आपत्तिजनक : नेता खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरूले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले एकद्वारा प्रणालीबाट उद्धार र सेवा कार्य गर्ने भनेपनि राहत वितरणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको आलोचना गरे । उनले महिला, वृद्धवृद्धा र बालबालिकाले राहत तथा खानपिन नपाएको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले सुत्केरी महिलाले त्रिपालसम्म नपाएको गुनासो आइरहेको भन्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले राहत वितरणमा सरकारले देखाएको ढिलासुस्ती आपत्तिजनक रहेको बताए ।
उनले भने ‘पश्चिम नेपालमा भूकम्पको दर्दनाक अवस्था छ । यसले सिंगो देशलाई अत्यन्त पाठ सिकाएको छ । त्यहाँ जुन प्रकारको जनधनको क्षति भएको छ । एक हप्ता पुग्न लागेको छ । सरकारले जुन एकद्वारा प्रणालीबाट त्यहाँ उद्धार र सेवा कार्य गर्ने भनेको छ । तर आजसम्म पनि सामान्य भन्दा सामान्य सुत्केरीले पनि पालसम्म पाएका छैनन् । यो यदि सत्य हो भने दर्दनाक कुरा हो, दुःखद् कुरा हो । सरकार किन ढिला भइरहेको छ । यस्तो इमर्जेन्सी कुरामा सरकारले जुन प्रकारको ढिलाइ गरेको छ । यो अत्यन्त आपत्तिजनक कुरा छ । हाम्रो पार्टीको तर्फबाट गम्भीर आपत्ति जनाउन चाहन्छु । अविलम्ब ती पीडित जनतालाई राहत पु¥याउन आग्रह गर्दछु । ढिला नहोस् भनेर चेतावनी दिन चाहन्छु ।’
पूर्वप्रधानमन्त्री खनालले नेपाल भूकम्पको जोखिममा रहेको उल्लेख गर्दै सरकारले आवश्यक पूर्वयोजनाका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।