अछाममा दीपेन्द्रको हत्या गरेर फरार भएकी लक्ष्मी काठमाडौंबाट पक्राउ
काठमाडौं । अछाममा एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पञ्चदेवल विनायक नगरपालिका–८ बाराला बस्ने ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट बुधवार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
अछाममा छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो । लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ ।
‘निजी रिसिइबिका कारण उनीहरूले युवकमाथि कुटपिट गरेका थिए । एक जनाले डुङ्गाले कन्चटमा प्रहार गरेपछि गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक साउँदले भने ।
कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । मृतक परिवारले सुरुमा ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।
उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो । मृत्यु भएपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।