एमाले सांसदलाई मुख्यमन्त्री कार्कीले भने– दौरा सुरुवाल लगाएर मन्त्री हुने तयारीमा बस्नु
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेका सांसदहरूलाई दौरा सुरुवाल लगाएर मन्त्री हुने तयारीमा बस्न आग्रह गरेका छन् ।
बिहीबारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले आफ्नो सरकारलाई एमालेको समर्थन कायमै रहेको बताए ।
‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ । एमालेका मन्त्रीज्यूलाई मैले सरकारबाट निकालेको होइन । उहाँहरू आफैले राजीनामा दिनुभएको हो । मैले लौरो बिर्सेको छैन । बरु लौरो आफैँ आवेशमा, इमोसनमा आएर निस्कनु भयो । म एमालेलाई साथै लिएर हिँड्न प्रतिबद्ध छु,’ मुख्यमन्त्री कार्कीले भने ।
यस्तै मुख्यमन्त्री कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले संविधान कार्यान्वयन गर्नुभन्दा पहिलो कार्यकालमा प्रदेश सरकारले कानुनहरू धेरै बनाएको बताएका थिए ।
उनले भने, ‘सङ्घीय सरकारले कब्जा गरेका अधिकार ल्याउनका लागि मुद्दा हाल्न पनि सक्छौँ । संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमै ल्याउनका लागि सिंहदरबार मै धर्ना दिन पनि सकिन्छ । छिटै आएन भने र उहाँहरूले तदारुकता देखाउनु भएन भने सिंहदरबारमा म आफैँ मुख्यमन्त्रीको हैसियतमा धर्ना दिन्छु र प्रदेशको अधिकार छिटै ल्याउन लाग्छु । म सम्मानित सभासँग अनुमति पनि माग्छु ।’
सङ्घले प्रदेश र स्थानीय तहलाई दिने साझा सूचीका अधिकारहरूका कानुन बनाउने भन्दा सरकार फेरबदल गर्ने र सरकार बचाउने खेलमा सङ्घीय सरकार लागेको उनको आरोप छ ।