नबिल बैंकको दराजसँग इएमआई अभियान

काठमाडौँ । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ ।

यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न सक्नेछन् ।

नबिल बैंकले यस सहकार्य मार्फत क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट किनमेल गर्दा लाग्ने खर्च व्यवस्थापन गर्न सहज बनाउने विश्वास गरिएको जनाएको छ । ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नै खरिदको रकमलाई सजिलो ६ महिने मासिक किस्तामा रूपान्तरण गर्ने बताइएको छ ।

यस सुविधाका लागि आफ्नो क्रेडिट कार्ड बिलिङ अघि नै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिन आवश्यक छ । यसबाहेक, इएमआई रूपान्तरणको लागि तोकिएको अवधि खुलाई [email protected] मा आवेदन दिनुपर्नेछ ।

यस अभियानमा ग्राहकहरूले ६ महिनासम्मको लागि अतिरिक्त लागत विना किस्ता सुविधा पाउनेछन् । तत्कालको लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।

साथै, नबिल बैंकले दराजको ११ः११ मा गरेको खरिदमा आकर्षक छुट पनि उपलब्ध गराएको छ ।

ग्राहकहरूले डेबिट कार्ड प्रयोग गर्दा आफ्नो खरिदमा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुटको सुविधा पाउने जनाइएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक सङ्ख्या पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *