नेपाल सुपर लिग : चितवनमाथि पोखरा थन्डर्सको जित

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा शनिबार भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा दोस्रो हाफमा भएको एक मात्र गोल पोखरालाई तीन अङ्कका लागि पर्याप्त बन्यो ।

चितवनलाई १–० ले पराजित गर्दा पोखराका लागि मोसेस ग्याबाहको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा मोसेसले स्टेफन कोजोको क्रसलाई आकर्षक गोलमा परिणत गरे । डिफेन्सले चितवनको डिफेन्स लाइनअपले क्लियर गर्न नसकेको बललाई उनले दोस्रो बार च्याप्दै गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमा दुवै टिमले प्रतिस्पर्धात्मक खेल खेले पनि गोलका सीमित अवसर मात्र सिर्जना गरेका थिए । तर, दोस्रो हाफमा पोखराले गोलको खडेरी तोड्दै अग्रता बनायो । जुन अग्रता नै निर्णायक बन्दा उसले महत्वपूर्ण तीन अङ्कसहित खेलको सुखद सुरुवात गर्न सफल भयो। गत संस्करणमा पनि पोखराले चितवनलाई २–१ ले हराएको थियो ।

शनिबार नै दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै छन् । अघिल्लो संस्करणको लिग चरणमा एकअर्काविरुद्ध भिड्दा ललितपुरले बुटवललाई १–० ले हराएको थियो । सोही लयलाई पहिलो खेलमा ललितपुर निरन्तरता दिने प्रयासमा छ ।

बुटवल भने गत संस्करणभन्दा यो पटक आफूलाई परिस्कृत र बलियो बनाएको भन्दै उपाधि दाबेदारीमा आफू बलियो रहेको प्रमाणित गर्न चाहन्छ । खेल साँझ ५ः३० मा प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *