शक्ति बस्नेतको गाउँमा पर्शुराम बस्नेत (भिडिओ)
काठमाडौं । नेकपा (एमाले)को नेपाल खेलकुद महासंघको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ ।
महासंघका अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा गएको टोलीले स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र त्यहाँ अस्थायी घर टहरा बनाउन जमिन सम्म्याउने जस्ता काम गरिरहेको छ ।
मकालुखबरसंग कुरा गर्दै अध्यक्ष बस्नेतले भने– ‘जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ अन्तर्गतमा ध्वस्त भएको भौतिक संरचनाहरूको निर्माण र व्यवस्थापन गर्न यहाँ आएका छौं । हामी यहाँका स्थानीयको दुखमा मलहम लगाउने काम गर्दै छौं ।’
जाजरकोट पुगेका बस्नेतले प्रभावित जनताल सरकारबाट पाउनुपर्ने राहत लगायतका सुविधा नपाएको जानकारी दिए ।
उनले भने– ‘यहाँका जनताले सरकार भएको अनुभूति गरेका छैनन्, सरकार गठबन्धनको छ । सरकारमा यही क्षेत्रबाट जित्ने शक्ति बस्नेत मन्त्री हुनुहुन्छ । तर पनि सरकारले घोषणा गरेको राहत अहिलेसम्म जनताको घरमा पुगेको छैन । र यस्तो अवस्थामा नेकपा एमालेले पीडितलाई ठुलो राहत दिएको छ ।’
उनले शिविर बनाएर पीडितको लागि काम गरिरहेको बताए । उनले जाजरकोटमा नेकपा एमालेले श्रमदान गरिरहेको बताएका छन् ।
गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका हुन् ।
नेकपा (एमाले) का जनसङ्गठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेका छन् ।