सोती घटनाको मुद्दामा आजदेखि सुनुवाइ सुरू, यसरी भएको थियो घटना
काठमाडौं । ६ जनाको हत्या भएको सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएको छ ।
रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको हो ।
आज पीडित (जाहेरवाला) को तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने क्रम चलिरहेको रूकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।
यो पटकको सुनुवाइ फैसला केन्द्रित भएकाले केही दिनमा घटनाको अदालती फैसला आउन सक्ने उनले बताए ।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो । उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुगेका थिए ।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो ।
घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रूकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ ।
यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो ।