विदेशमा रहेका नेपालीका कारण राजनीतिमा आएको हुँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिमा आउनुको मुख्य कारण विदेशमा रहेका नेपाली रहेको बताएका छन् ।

मलेसियामा रहेका नेपालीहरुसंगको भेटमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि पहल गर्न र देशमा बस्न सक्ने वातावरण बनाउन राजनीतिमा आएको बताएको हुन् ।

उनले भने– ‘म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्। विदेशमा रहँदा तपाईँकै समस्या समाधानका लागि सार्थक पहल गर्न सकूँ, देशमा बस्न सक्ने वातावरण बनाउँदै अघि बढूँ र तपाईँको विश्वासमा खरो उत्रन सकूँ भन्ने हो।’

सभापति लामिछानेले अवसर र रोजगारको लागि बिदेसिनु पर्ने बाध्यता घट्नुको साटो बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–‘अवसर र रोजगारको लागि विदेश जानु पर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ ।’

सभापति लामिछाने नेपाली शुभेच्छुक र समर्थकहरूसँग भेटघाट गर्न र धन्यवाद दिन मलेसियामा छन् ।

उनी मङ्सिर १९ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *