नेपाल खेलकुद महासंघ : जसले भूकम्प प्रभावितको मुहारमा उज्यालो ल्यायो

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना पुरा भयो । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट करिब १५७ जनाको मृत्यु भयो । २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किए । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुग्यो । शान्त जाजरकोट एकाएक यसरी खण्डहर बन्नेछ भनेर कसले पो कल्पना गरेको थिए र ?

भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुनः स्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन । भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरू थप समस्यामा परेका छन् ।

हुन त, भूकम्प गएको अर्को दिन बिहानै प्रधानमन्त्रीसहितको सरकारी टोली पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेको थियो । कहालीलाग्दो रात कटाएका जाजरकोट बासी प्रधानमन्त्री सहितको टोली सान्त्वना दिनपुगेपछि खुसी पनि भए, सरकार आफैसंग भएको आभास पनि गरे । तर जाजरकोटवासीको त्यो खुसी लामो समय टिक्न सकेन ।

त्यसो त, केही राजनीतिक दलका नेताहरू तत्काल भूकम्पले प्रभाव परेको ठाउँमा नपुगेका पनि होइनन्, सरकारले राहत घोषणा नगरेको पनि होइन, तर एक महिना पुगिसक्दा पनि जाजरकोटवासीले आफ्नो पीडामा राज्यको उपस्थिति महसुस गर्न पाएका छैनन् ।

‘राज्यबाट मात्र होइन, दलहरूका विभिन्न नेताहरू पनि हाम्रो गाउँसम्म आउनु भएको थियो,’ जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ रिम्नाकी दीपा बस्नेत पुनले भनिन्, ‘उहाँहरुले टहरा बनाउन आफूहरूले सहयोग गर्ने आश्वासन दिनुभयो, त्यसलाई हामीले कुरिरह्यौँ । तर, उहाँहरू फर्किएर आउनु भएन, उहाँहरूको सहयोगको आश्वासन पनि आएन ।’

सरकारले र अन्य दातृ निकायले घोषणा गरेको राहत प्रभावितले पाउन सकेका छैनन् । भेरी नगरपालिकामा मात्र भूकम्पका कारण ४५ जनाले ज्यान गुमाएका थिए । तिनैमध्ये एक थिइन्, दीपाकी आमा जानुका सुनार । ७० वर्षकी जानुका र दीपाका दुई छोरीहरूसँग सुतेकी थिइन् । भूकम्पपछि क्षतिग्रस्त भएको उनको घरले किचिएर उनको मृत्यु भयो, दीपाकी छोरी भग्नावशेषमा नै पुरिइन् ।

‘मैले भूकम्पका कारण आमा गुमाएँ,’ दीपाले भनिन्, ‘छोरीलाई निकै पछि भग्नावशेष हटाएर उद्धार गर्न सक्यौँ ।’

त्यो रात सम्झिँदा दीपाका आँखा अहिले पनि रसाइहाल्छन्, मन भक्कानिन्छ । आँखा नरसाहोस् पनि किन उनले आमा गुमाएकी छिन्, जसको सहारामै छोरीहरूको भविष्यको मार्गचित्र कोरेकी थिइन् ।

‘२०५२ सालमा नै मैले बुवा गुमाएँ,’ उनले सम्झिइन्, ‘राज्यपक्षले मेरो बुवाको हत्या गरेको थियो, पछि सरकारले उहाँलाई शहीद घोषणा गर्‍यो ।’

देशमा परिवर्तनका लागि ज्यान आहुती दिएका सहिदकी छोरी दीपाले यसपटक भूकम्पमा केही रातहरू खुला आकाशमुनि बिताइन्, त्यसपछि उनको सहारा बनेर पुग्यो नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ ।

‘भूकम्पले ढलेको घर र आफू बस्ने सानो छाप्रोको पनि नहुँदा मलाई विरक्त लाग्थ्यो,’ दीपाले भनिन्, ‘आफैँसँग भूकम्पले भत्काएको घर हटाउन वा नयाँ टहरो भए पनि बनाउन पैसा थिएन ।’ त्यति नै बेला सरकारले राहत दिने घोषणा ग¥यो । दीपाले मनले केही भए पनि सन्तोष पायो । अनि दीपाको घरमा पुगेरै केही नेताहरूले उनलाई जस्तापाता किनिदिने र त्यसका लागि पैसा दिने आश्वासन पनि दिए । तर, न सरकारको राहत दीपाको हातमा परेको छ, न ती नेताको वाचा समयमा नै पूरा भयो ।

‘यस्तो समयमा आएको नेपाल खेलकुद महासंघको टोलीसँग मैले आफ्नो कुरा राखेँ,’ दीपाले भनिन् ।

सहिद परिवारकी दीपाको कुरा महासंघले सुन्यो । उद्धार गर्न पुगेका महासंघको टोलीका सदस्यहरूले आफूहरूले खाना खाजा गर्न लगेको पैसाबाट केही कटौती गरेर दीपाको घरलाई पुग्ने जस्तापाता खरिद गरे र उनका लागि अस्थायी टहराको निर्माण सुरु गरे ।

अहिले त महासंघले घर बनाएर दीपालाई हस्तान्तरण पनि गरिसकेको छ ।

‘म नेपाल खेलकुद महासंघलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उहाँहरूको सहयोगी मनका कारण मैले फेरि मेरा दुई छोरी हुर्काउन एउटा छानो पाएकी छु ।’

नेकपा एमालेले सुरु गरेको पुनर्निर्माण अभियानमा सहभागी भएको नेपाल खेलकुद महासंघले रिम्नामा दर्जनौँ घरहरू बनाएर हस्तान्तरण गरिसकेको छ, अझै पनि त्यहाँ काम गरिरहेको छ ।

‘हामीले त्यहाँ सबैभन्दा पहिले अति आवश्यक परिवारहरू पहिचान गरेर काम गरिरहेका छौँ,’ नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत भन्छन्, ‘चिसो बढ्दो छ, भूकम्पबाट प्रभावितहरूलाई लागि रात कटाउन छानोको आवश्यकता छ, त्यसमा हामीले सक्दो सहयोग गरिरहेका छौँ ।’ उनले यही अभियानअन्तर्गत दीपालाई अस्थायी टहरा बनाएर दिन पाउँदा आफूहरूलाई गर्वको महसुस भएको पनि बताए ।

‘सहिद परिवार, आमा गुमाउनुको पीडामा एक्लै हुनुहुन्थ्यो उहाँ,’ उनले भने, ‘उहाँका लागि बस्ने बासको व्यवस्था हामीले पूर्णरुपमा गरेका छौँ, नेकपा एमाले जनताको दुःखको साथी हो भन्ने सन्देश दिन सफल भएका छौँ ।’

गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको भौतिक संरचनाको भग्नावशेष हटाउन र अस्थायी बसोबास निर्माणका लागि पार्टी केन्द्रको तर्फबाट एक हजार र प्रदेशका एक सय गरी ११ सय स्वयंसेवक खटिएका छन् ।

नेकपा (एमाले) का जनसङ्गठनहरू नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), अनेरास्ववियु, युवा संघ नेपाल खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा पुगेर काम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *