नवराजहरूले पाएको ऐतिहासिक न्याय !
काठमाडौं । मंगलबार रुकुम पश्चिम जिल्ला अदालतले झण्डै साढे तीन वर्ष लगाएर रुकुम पश्चिमको सोती घटनाको फैसला गर्यो । जातीय छुवाछूतका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा नवराज विकसहित ६ युवाको हत्यामा संलग्न भएको अभियोग लागेका ३४ मध्ये २४ जनालाई जन्मकैदको सजाय सुनायो । न्यायाधीश खड्गबहादुर केसीको मङ्गलवारको इजलासले दोषी ठहर गर्दै जातीय छुवाछूतको कसुरमा यो फैसला सुनाएको थियो ।
अदालतले नवराज विकसहितका ६ युवालाई हत्या गरेको आरोपमा डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, रुकुम पश्चिम ५४ (३६) १, रुकुम पश्चिम ५४ (३६) ३ र रुकुम पश्चिम ५४ (३९) लाई दोषी ठहर गरेको छ ।
यसअघि जिल्ला अदालतको आदेशमा रुकुम पश्चिम ५४ (३९) भने साधारण तारिखमा छुटेका थिए, बाँकी दोषी पुर्पक्षका लागि कारागार चलान भएका थिए । नवराजकी प्रेमिका र आमालाई पनि जातीय छुवाछूतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । दोषीहरूबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ । तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने सफाइ पाएका छन् ।
लामो समयदेखि न्यायको पर्खाइमा रहेका नवराज लगायतका परिवारहरूमा सो फैसलापछि खुसीको सीमा छैन । उक्त सुनुवाइले पीडित परिवारले न्याय महसुस गरेका छन् ।
उनीहरूले जिल्ला अदालत रुकुम पश्चिमअगाडि खुसीसमेत व्यक्त गरेका छन् । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । पीडित परिवार र दलित अधिकारकर्मीहरू जिल्ला अदालतको मूल गेटअगाडि न्यायको पर्खाइमा थिए । अन्ततः अदालतले न्याय दिएको पीडित परिवारले जनाएका छन् ।
आज बुधवार पनि नवराज लगायतका परिवारहरुले अदालतको फैसलालाई स्वागत गर्दै खुसीयाली जुलुस निकालेका छन् ।
के थियो घटना ?
जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक सोती गाउँकी मल्ल थरकी किशोरीसँग प्रेममा थिए । उनलाई भगाउन भनी आफ्ना साथी लिएर २०७७ जेठ १० मा प्रेमिकाको घरमा पुगेका बेला उनीहरूमाथि केटीपक्षका परिवार र स्थानीयले योजनाबद्ध आक्रमण गरे ।
यसै क्रममा नवराज र उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट सङ्कलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए ।
घटना लगत्तै नवराजका बुबा मुनलाल विकले चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर गरेका थिए । प्रहरीलाई दिएको जाहेरीमा मुनलालले छोरा नवराज र सोती गाउँकी किशोरीबिच लामो समयदेखि भएको प्रेम सम्बन्धका कारण उनको षड्यन्त्रपूर्वक हत्या भएको उल्लेख भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका थिए । पक्राउ परेका प्रतिवादीहरूले अनुसन्धानका क्रममा दिएको बयानअनुसार उनीहरूलाई वडाध्यक्ष मल्लसहितको योजनामा चारैतिरबाट घेरा हाली लखेटी लखेटी मारिएको थियो ।
जातिय छुवाछुतकै कारण ज्यान गुमाउनु गरेको भन्दै त्यसपति दलित अधिकारकर्मीहरू न्यायको लागि आन्दोलन गरिरहेका थिए । राजनीतिक दाउपेचले मुद्दामा देखिएको सुस्तताले न्याय नपाइने हो कि भन्ने चिन्ता दलित समुदायमा थियो । अन्ततः जातीय छुवाछुतको यो घटनामा अदालतले ऐतिहासिक फैसला गरेको छ ।
यो पनि पढ्नुहोस्–नवराज हत्या प्रकरणमा २३ जनालाई जन्मकैद