पशुपतिमा यस्तो छ बालाचतुर्दशीको तयारी

काठमाडौँ । भोलिको बालाचतुर्दशीका लागि पुशपति क्षेत्रमा बिहानै भक्तजनको भिड बढ्न थालेको छ । दिवङ्गत पितृका नाममा महादीपदान गर्न भक्तजनको भिड लाग्न थालेको हो ।

मंसिर कृष्ण पक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत पितृका नाममा महादीपदान गरिन्छ । आज रातभर जाग्राम बसेर भोलि बिहान दीप बाग्मतीमा सेलाएर पशुपति क्षेत्रका विभिन्न ठाउँमा शतबीज छरिन्छ । यसो गरेमा दिवङ्गत पितृको सद्गति हुनुका साथै शान्ति पाउने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा बाला चतुर्दशी मेलाका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ ।

यसैगरी छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । राति बस्ने भक्तजनको सुविधाका लागि पर्याप्त पाल र अस्थायी शौचालयको समेत व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । जथाभाबी फोहर नगर्न र तोकिएको ठाउँमा मात्रै शतबीज छर्न उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *