चुनावमा जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको छ : उपसभापति गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाली काँग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन् ।
आइतबार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे । अहिले केही राजनीतिक दलहरू मिसन २०८४ भनेर हिँडिरहेको भएपनि काँग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए ।
उनले काँग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए । उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए ।
उनले भने ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पुर्याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ । आज हामी एक प्रकारले दिक्क पनि भइसकेका छौँ । जति सफा गर्न खोज्यो उति नै फोहोर, जति फाइल खोल्दै गयो, उति नै फोहोरमात्र देखिन्छ, अप्ठ्यारो छ नि । त्यसकारले गर्दा पनि नेपाली काँग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो । अहिले कता कता सुन्छु नि म, मिसन २०८४ । तर म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली काँग्रेसका लागि । हामीले विचार प्रधान बनाएर लैजानुपर्छ । चुनावमा जिताइदेऊ भन्ने मात्रै मिसन होइन हाम्रो । चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा मात्रै न देश बिग्रिएको छ । अहिले नेपाली राजनीतिमा जुन ढंगबाट विचार भन्दा पनि अरु नै चिज प्रधान बनेर आएका कारणले गर्दा पनि नेपाली राजनीतिमा सानातिना उथलपुथलका झिल्काहरू देखिन थालेका छन् । हामी सुध्रिन आवश्यक छ ।’
उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए ।