जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरिदिन बालबालिकाको आग्रह
काठमाडौँ । बालबालिकाहरूले जलवायु परिवर्तनका कारण बालबालिकाहरूमा परेको प्रभाव न्यूनीकरणका लागि पहल गरिदिन सरोकारवाला निकायहरूसँग आग्रह गरेका छन् ।
बुधवार काठमाडौंमा सेभ द चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले जलवायु परिवर्तनको असरका कारण बालबालिका र किशोरकिशोरीहरुमा विभिन्न खाले प्रभाव परेको भन्दै त्यसलाई न्यूनीकरण गरिदिन सरोकारवाला निकायहरूसँग आग्रह गरेका हुन् ।
उनीहरुले जलवायु परिवर्तनका कारण युवा, किशोरकिशोरी र बालबालिकामा मानसिक चिन्ता बढेको समेत बताए ।
कार्यक्रममा सहभागी प्रज्ञा कार्कीले जलवायु परिवर्तनका कारण बालबालिकाहरू आफ्नो स्वस्थ खान पाउने अधिकारबाट समेत वञ्चित भएको बताइन् ।
उनले अहिले समाजमा खान नपाउनु मात्रै समस्या नभएको र स्वास्थ्यवद्र्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेको बताइन् ।
उनले भनिन् ‘अन्न बाली नै नफलेपछि कसरी फलाउने रु के प्रयोग गरेर फलाउने ? त्यसपछि रासायनिक पदार्थको अत्यधिक प्रयोग किन नहुनु ? म ठूलो हुँदै गर्दा मेरो परिवारमा फलफूल र तरकारीमा धेरै नै कम निर्भर हुनुपर्दथ्यो । सकेसम्म गाउँबाट ल्याउने तरकारी र फलफूलमा बढी जोड दिनुहुन्थ्यो । अहिले हाम्रो समाजमा खान नपाउनु मात्रै समस्या होइन, स्वास्थ्यवद्र्धक खान नपाउनु पनि त्यत्तिकै ठूलो समस्या रहेछ ।’
त्यस्तै सेभ द चिल्ड्रेनका आयुष श्रेष्ठ जोशीले जलवायु परिवर्तनका कारण बालबालिका, किशोरकिशोरी र युवापुस्तामा परेको प्रभावबारे जानकारी राख्न र सरोकारवाला निकायमा आवाज उठाउनका लागि कार्यक्रम गरेको बताए ।
उनले सेभ द चिल्ड्रेनले बालबालिकाहरूको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा विगत दुई वर्षदेखि कार्यक्रमहरू गर्दै आएको बताए ।
उनले जलवायु परिवर्तनले बालबालिकाहरूमा परेको असरबारे नीति निर्माण गर्ने तह र देश तथा विदेशमा पनि बालबालिकाहरूको हक र हितका लागि आवाज उठाइरहेको बताए ।
उनले भने ‘हामीले जलवायु परिवर्तनमा युवा, किशोरकिशोरी र बालबालिकाको जिम्मेवारी र उहाँहरूलाई जलवायु परिवर्तनले कसरी असर पार्दै छ भनेर उहाँहरूकै आवाजमा सुन्ने कार्यक्रम हो । सेभ द चिल्ड्रेनले विभिन्न स्थानमा त्यहाँका बालबालिकाहरूको जीवनमा जलवायु परिवर्तनका कारण परेको असर र जनजीवनमा पारेको असरका बारेमा कुराकानी गरेका छौँ । कुराकानी गरेर मात्रै भएन, नीति निर्माण, देश, विदेशमा उहाँहरूको आवाज सुन्नुपर्छ भनेर कार्यक्रम गरेका हौँ । आज देशका मधेस, कर्णाली, बागमतीका बालबालिकाहरूले आफ्नो ठाउँमा जलवायु परिवर्तनले पारेको असरका बारेमा प्रस्तुतीकरण गर्नुभएको छ ।’
कार्यक्रममा कर्णाली, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लाका बालबालिका, किशोरकिशोरी र युवाहरू सहभागी भएका छन् । उनीहरुले जलवायु परिवर्तनका कारण आफ्नो गाउँ ठाउँमा कृषि उत्पादनमा कमी, मानसिक एवं शारीरिक समस्या बढेको बताए ।
जलवायु परिवर्तनका कारण पानीबाट हुने सङ्क्रमण बालबालिकाहरूमा तीव्र रूपले बढेको छ । जलवायु परिवर्तनले जीवन शैलीमा परिवर्तन र तीव्र वन विनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्दै गएको र त्यसको सिकार बालबालिकाहरू हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।