आज राति वर्षकै उत्कृष्ट ‘मिथुन उल्का वर्षा’ देखिने

काठमाडौँ । बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ : ३० सम्म मिथुन उल्का वर्षा देखिने भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार बिहीबार नेपालबाट उल्का वर्षा देख्न सकिने जनाएको हो ।

उल्कावर्षा सामान्यतः मध्यरात पछि हेर्दा उत्तम हुने खगोलविद्हरुले जनाएका छन् । मौसमले साथ दिएमा उल्का वर्षा हेर्नेहरुका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्का वर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।

नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार यो वर्ष मंसिर १८ देखि सुरु भएको मिथुन उल्का वर्षा पुष १ गतेसम्म सक्रिय रहने छ । उल्का वर्षाको अत्यधिक सक्रियता भने बिहीबार राति हुनेछ । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने भट्टराईले जानकारी दिए ।

उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षालाई ‘जमिनिड मिटियर सावर’ नाम दिइएको छ ।

यो उल्का वर्षा क्षुद्र ग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धुलोका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिने उनले बताए ।

नासोले आफूले खिचेका तस्बिरहरु आफूलाई इमेल मार्फत पठाउन पनि सबैलाई आग्रह गरेको छ । ‘नासो नेपाल एट जिमेल डटकम’मा पठाइएका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने अध्यक्ष भट्टराईले जनाए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *