चितवनसँग बराबरी गरेसँगै इलामको प्लेअफ सम्भावना सकियो
नेपाल सुपर लिगमा शनिबार एफसी चितवन र स्पोर्टिङ इलामले बराबरी खेलेका छन्। दशरथ रंगशालामा चितवन र इलामले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेल अवधिभर दुवै टिमले अवसर सिर्जना गरेपनि गोल निकाल्न भने सकेनन्। बराबरीपछि पनि प्लेअफ पुग्ने चितवनको गणितिय सम्भावना रहँदा इलामको भने अब शीर्ष चारको सम्भावना समाप्त भएको छ।
चितवनले ७ खेलबाट ६ अंक बटुलेर तालिकाको सातौं स्थानमा रहँदा इलाम ५ अंक सहित तालिकाको पुछारमै छ। शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले बिरगञ्ज युनाईटेडलाई २–१ ले हराएको छ। जितसँगै पोखरा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
जोए आइडोले खेलको छैटौं मिनेटमा पोखरालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि बिरगञ्जका एकिन्स बाफोरले खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन एक मिनेट अघि मोसेस टुम्बाले गोल गर्दै पोखरालाई जित दिलाए।
जित सहित पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गरेको छ ।