सर्वोच्च अदालतबाट अवकाश हुँदा चोखो भएर निस्कन चाहन्छुः प्रस्तावित न्यायाधीश पौडेल
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले सर्वोच्च अदालतबाट अवकाश हुँदा कुनै विवादमा नफसी निस्कन चाहेको बताएका छन्।
आइतबार सिंहदरबारमा संसदीय सुनुवाइको क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफू लामो समयदेखि न्यायपालिकामा संलग्न भएको र कुनै पनि समय विवादमा नपरेका कारण यही छवि कायम राखेर जान चाहेको बताए।
प्रस्तावित न्यायाधीश पौडेलले भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिने निष्कर्ष निकालेकाले त्यस्ता काममा नलाग्ने अठोटका साथ काम गरिरहेको दाबी समेत गरे।
पौडेलले आगामी दिनमा सर्वोच्च अदालतमा मुद्दा फर्स्योटको कामले गति लिने विश्वास समेत व्यक्त गरे। उनले भारत र पाकिस्तानमा भन्दा नेपालको सर्वोच्च अदालतले मुद्दा फर्स्योटको कामलाई छिटो सम्पन्न गर्ने गरेको दाबी समेत गरे।
‘हिंसाले राज्यको आत्मालाई अपांग बनाउँछ। भ्रष्टाचारले राज्यको आत्मा नै मारिदिन्छ। यो मेरो आफ्नो अनुभूति हो,’ उनले भने, ‘आजसम्म मैले यो ३० वर्ष काम गरेँ। निष्ठा र इमान्दारितामा रहेर काम गरेँ। मेरो बाँकी साढे ६ वर्ष छ। म समयमा त्यो चोखो भएर निस्कन चाहन्छु। तैले के गर्छस् भन्दा मसँग अहिले समय छैन। म यत्ति नै भन्न चाहन्छु।’