मलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ बनाउँदैछन्, तर भ्रष्टाचारलाई छोडिन्न : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिवद्धता गरेअनुसार काम गर्न नसकेको बताए ।

उनले भने – ‘यदि माननीय सदस्यहरुले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका बिरुद्ध गालि गरेर, अराजकता श्रृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरुलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरु केही गर्नुछैन । र मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकांक्षा, मेरो प्रतिवद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कुटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढंगले, आक्रमक ढंगले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहीँ आएर के चाहीँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षि त छौ नि त यहीँ ।’

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरुको प्रकृतिअनुरुप कारबाही प्रक्रिया पनि अगाडी बढाइएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र बिरुद्धको हमला भएको बताए ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताए ।

उनले कतिपय मानिसहरु आफूलाई ‘ह्युमुलेट’ र ‘डिप्रेश’ नगरेसम्म व्यवस्था उल्टिँदैन भनेर त्यही ढंगले लागेका बताए ।

उनले एनसेल प्रकरणमा आफ्नो परिवारमाथि लगाइएको आरोप झुठो भएको बताए ।
उनले भने – ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणाबढी भ्रष्टाचार गरेको छ । त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुठो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भनेपनि त्यो सावित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, विचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकी प्रचण्डलाई नराम्रोसँग ह्युमुलेट नगरेसम्म र डिप्रेश नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरुलाई आफूले चिनेको भएपनि कानून, संविधान र प्रणालीको बिरुद्धमा गए नछोड्ने बताए ।

चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *