नेपाल सुपर लिग फुटबल : ललितपुर सिटीको अपराजित यात्रा रोकियो

काठमाडौँ । ललितपुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ ।

स्पोर्टिङ इलामले मंगलवार दशरथ रङ्गशालामा आफ्नो अन्तिम तथा आठौँ खेलमा ललितपुर सिटी एफसीमाथि १–० को जित निकाल्दै यस सिजनको यात्रा टुङ्ग्याएको हो ।

यससँगै ललितपुर आफ्नो अपराजित यात्रा सातौँ खेलमा पूर्णविराम लगाउन बाध्य भयो । यो हारपछि ललितपुरको प्लेअफ यात्राका लागि अन्तिम खेलमा जित या अन्य टोलीको नतिजा पनि भर पर्नुपर्नेछ ।

ललितपुरको सात खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । अब ललितपुरले अन्तिम खेलमा काठमाडौं रेजर्ससँग खेल्नेछ । प्लेअफमा स्थान बनाउन ललितपुरले त्यो खेल जित्नैपर्नेछ ।

बराबरी या हारको नतिजाले भने ललितपुरले प्लेअफमा स्थान बनाउन अन्य टोलीका नतिजा पर्खनु पर्नेछ । यता, यसै सिजनबाट एनएसएलमा डेब्यु गरेको स्पोर्टिङ इलाम आठ खेलबाट आठ अंकसहित पाँचौँ स्थानमा उक्लिएर यो संस्करणको अन्त्य गर्यो ।

इलामको सुखद् अन्त्य गर्न गराउन फोडे क्यामराले गोल गरे । त्यसअघि खेलको २१ औं मिनेटमा नवीन लामाले बक्स बाहिरबाट गरेको प्रहार बार नजिकैबाट बाहिरिँदा इलामले अग्रता लिने अवसर गुमायो ।

दुई मिनेटपछि ललितपुरका दिनेश हेन्जनको सट उत्कृष्ट बचाउ गर्दै गोलकिपर विकेश कुथूले इलामलाई जोगाए ।

इमो इजिकेलको पासलाई दिनेशले बक्सभित्रबाट पोस्टको दिशा दिने प्रयास सफल भएन । ३५औं मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको सट उत्कृष्ट बचाउ गर्दै विकेशले इलामको संकट टारे ।

४२ औं मिनेटमा क्यामराको फ्रिकिक ललितपुरका गोलकिपर जेफ्रीले बचाए । त्यससँगै पहिलो गोलरहित बराबरीमा टुङ्गियो । ललितपुरका लागि ५६ औं मिनेटमा इजिकेलको सटलाई विकेशले बचाए ।

तीन मिनेटपछि क्यामराको गोलमार्फत इलामले अग्रता लियो । ललितपुरका डिफेण्डर ओमोलाजा नुरेन करिमबाट खोसेको बललाई उनले एकल प्रयासमा गोलकिपर जेफ्रीलाई बिट गर्दै जाली चुमाए ।

त्यससँगै पछि परेको ललितपुरले एकपछि अर्को आक्रमण बुन्यो । दिनेशको ७४औं मिनेटमा क्रस बललाई इजिकेलको हेडर विकेशले सहजै नियन्त्रणमा लिए । ८०औं मिनेटमा क्यामराले गोल गर्न चुक्दा इलामले अग्रता दोब्बर बनाउन सकेन ।

उनले विकेशको लामो दूरीको क्रसलाई नियन्त्रणमा लिँदै बल अगाडि बढाए पनि गोलकिपर जेफ्रीलाई बिट गर्न सकेनन् । ललितपुरका सनिष श्रेष्ठ ८२औं मिनेटमा गोल गर्न चुके । सेसेहाङ आङदेम्बेको कर्नरमा विकेशले बल फुत्काए पनि सनिसको सट अकासियो ।

ललितपुरले ९०औं मिनेटमा सनिषको क्रसमा पापा इबु केबेको हेडर विकेशले सफल हुन दिएनन् । त्यसपछि बाँकी समय प्रयास भएपनि इलामले ललितपुरको अपराजित यात्रामा पूर्णविराम लगायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *