राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत
काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ ।
बुधवार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको जानकारी दिएको छ ।
उक्त विज्ञप्ति अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको छ ।
स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको उल्लेख छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ।
निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुने र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।
पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकोले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार रहेको बताइएको छ ।