मुलुकको शासन पद्धति पारदर्शी भए विदेशी लगानी आउँछ : डा.मिलेन्द्र रिजाल
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।
शुक्रवार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा।डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस नेता रिजालले यस्तो बताएका हुन् ।
उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे ।
उनले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कहीँ पुग्न नसक्ने बताए ।
उनले भने ‘आफूले गरेको काम र अनुभवलाई देशलाई ठिक बाटोमा लिएर जानको लागि हो । नेपाली जनताले तिरेको कर होस् । विदेशीसँग लिएको ऋण वा निजी क्षेत्रबाट ल्याएको ऋण होला । अथवा भोलि पोटफोलियो लगानी ल्याउने स्टक मार्केट कुरा गरिरहेका छौं । यसलाई कसरी पारदर्शिता बनाउन सकिन्छ भन्ने हो । मलाई सोध्नुहुन्छ भने नेपालको एउटा विषय नै सबैभन्दा ठूलो समस्या हो । विगतको ७÷८ वर्षदेखि नेपालको शासन यसरी नाच भएको छ । यो लेबलको कुशासनबाट हामी कहीँ पनि पुग्न सक्दैनौँ । शासन ठिक बाटोमा अर्थात् शासन पारदर्शिता बनाउने बाटोमा जाने हो भने मुलुकको अर्थतन्त्र जरुक उठेर हिँड्ने अवस्था छ । त्यहाँ पोर्टफोलिया लगानी,वैदेशिक लगानी पनि आउँछ । नेपालको निजी क्षेत्रको लगानी पनि आउँछ । स्वदेशी तथा विदेशी लगानीकर्ताहरू नेपालको विकासमा सहभागिता जनाउने छन् । त्यसको लागि आधार बनेको छ ।’
उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए । उनले अर्थतन्त्र सबल बन्ने सबै आधारहरू बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरू नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए ।