युवाहरूले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन् ।

शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।

उनले युवाहरूको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए । उनले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरूलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गरे ।

उनले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरूले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताए । उनले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताए ।

उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए । उनले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसाबमा युवाहरूले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताए ।

उनले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताए । अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरू सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताए ।

उनले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताए । उनले सरकारले पनि आइटी क्षेत्रको प्रवर्द्धन गर्दै लैजाने बताए ।

उनले भने ‘आइटी क्षेत्रमा निर्यात वृद्धि भइरहेको छ । अझ बढ्ने अवस्था छ । आइटीको मुलुकभित्र संस्थागत विकासमा युवाहरूको ठूलो भुमिका हुन्छ । पछिल्लो समय युवाहरू विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आइटी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशत भन्दा बढी युवा आइटी क्षेत्रमा जोडिनुभएको छ । आइटीमा लागेका युवाहरूले अरु युवाहरूलाई पनिसँगै लिएर जानु मेरो अनुरोध छ । अध्ययनको लागि पूर्ण छात्रवृत्ति आउँछ भने अध्ययनको लागि जान आवश्यक हुन्छ । तर कुनै छात्रवृत्ति छैन र आकर्षण रुपमा विज्ञापन गरेको आधारमा युवाहरू विदेश गइरहेका छन् । त्यहाँ गएकाहरूको बेहाल छ । विदेशमा सबैको लागि सहज छैन । अहिले १२ कक्षादेखि बाहिर जाने क्रम चलेको छ । युवाहरूले नै यसलाई रोक्नु अग्रसर हुनुपर्छ । विदेशमा गएकाहरू सबैको राम्रो अवस्था नभएको भन्दै विदेश जान रोक्न सचेतना अभियान युवाहरूले गर्नुपर्छ । नेपालमा नै धेरै अवसरहरू छन् । ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भयो भने मात्रै अवसर हुन्छ । त्यहाँ धेरै अवसर हुँदैन । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले धेरै अवसरहरू पनि नेपालमा नै छ । अहिले नेपालमा केही काम छैन । विदेशमा मात्रै छ भन्ने नकारात्मक माइन सेनमा प्रचार भइरहेको छ । युवाहरूको सपना पूरा गर्ने अवसरहरू नेपालमा नै छ । सुक्ष्मदृष्टिले हेर्न आवश्यक छ । दृष्टिकोण नै बाहिर जाने राखेर हेर्नु भएन । अर्थतन्त्र सुधार हुँदै गएको छ । जम्मा भएको पुँजीलाई चलमायन बनाउन आवश्यक छ। सरकारले मौद्रिक र आर्थिक नीतिमा प्राथमिकताको आधार खुला गर्दै गएको छ ।’

उनले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *