नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित विज्ञान शिक्षक पक्राउ
काठमाडौं । काभ्रेमा नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जिल्लाको पाँचखाल नगरपालिका-६ स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरूङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेका हुन् ।
काभ्रेका डिएसपी राजकुमार श्रेष्ठकाअनुसार मच्छेनारायण विद्यालयका विज्ञान पढाउने शिक्षक हुन् ।आइतबार पीडित बालिकाको सामाजिक सञ्जालमार्फत घटना बाहिरिएपछि जनप्रतिनिधिहरू विद्यालयमा पुगेर दुवै शिक्षकलाई प्रहरीको जिम्मा लगाएका थिए । शिक्षक श्रेष्ठले दसैँ तिहारको बिचको बिदामा बालिकालाई ललाइफकाइ बनेपा लगेर बलात्कार गरेको खुलेको छ ।
त्यसपछि विद्यालयका प्रधानाध्यापकसहित अन्य शिक्षकहरूले पनि बालिकालाई सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक म्यासेज पठाउने गरेको देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पीडित पक्षले दुवै शिक्षकविरुद्ध आइतबार नै जाहेरी दिएको र सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढेको डिएसपी श्रेष्ठको भनाई छ ।