नेपालमा ‘डिजिटलाइजेसन’को विकल्प छैन : गभर्नर अधिकारी

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताएका छन् । आइतबार नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अरु खालका विकृतिहरू पनि हटाउँदै लैजाने बताए । डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनले बताए । नेपालमा डिजिटलाइजेसन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए । आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने भन्दै उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

‘एक खालको इकोसिस्टम हामीले सोचेको भन्दा पनि चाँडो बन्दै गइरहेको छ डिजिटल पेमेण्टमा । हामीले क्यासै बोकेर हिँड्नुपर्दैन अहिले । त्यसमा हामीले गर्व गर्नुपर्छ । दुईतीहाई जनसंख्या मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुहुन्छ । यो निकै ठूलो परिवर्तन हो,’ उनले भने, ‘यसलाई हामीले जोगाएर लैजानुपर्छ र यसलाई थप जोड दिनुपर्छ । डिजिटलाइजेशनको अरु विकल्प छैन, यसले समाजमा सुशासन ल्याउँछ, अरु खालका विकृतिहरू हटाउँदै लैजान्छ ।’

गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरु मुलुकले झैं समग्र अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *