चुडामणि शर्मा विरुद्धको मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । आन्तरिक राजस्व विभागका तत्कालीन निलम्बित महानिर्देशक चुडामणि शर्मा लगायतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको छ ।
आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेपछि सर्वोच्च अदातलमा आइतबार पुनरावेदनको निवेदन दिएको हो ।
आयोगका अनुसार चुडामणि शर्माको जाँच अवधिको समग्र व्यय ७ करोड १५ लाख ७३ हजार ३८ रुपैयाँ र आय ३ करोड ७० लाख ४० हजार ६ सय ८१ रुपैयाँ १५ पैसा देखिएको छ ।
यस अर्थमा शर्माले ३ करोड ४५ लाख ३२ हजार ३५६ रुपैयाँ ८५ पैसा बराबरको रकमको स्रोत पुष्टि गर्न नसकेको आयोगको दाबी छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनसार विशेष अदालतले चुडामणि शर्मा र उनकी श्रीमती कल्पना उप्रेती शर्माका बारेमा गत जेठ १८ गते गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगको दाबीमा ‘दाबी नपुग्ने’ ठहर गरेको थियो ।
आयोगले उक्त रकम गैर कानुनी रुपमा शर्माले आर्जन गरेको दाबीसहित सर्वोच्च अदालतमा पुनरावदेन दिएको छ ।