शिक्षकपछि परदेशी हुँदै कृषिमा जमेका आशकाजी
काठमाडौं । २०४५ सालमै एसएलसी पास गरेका तनहुँको भानु नगरपालिका वडा नम्बर ९ रानी पानीका आशकाजी श्रेष्ठले करिब ३ वर्ष शिक्षण पेसा गरे । तर, गाउँमा हुने राजनीतिका कारण उनी लामो समय शिक्षक हुन पाएनन् । त्यसपछि उनी रोजगारीका लागि विदेश गए । विदेशमा कमाइ पनि राम्रै थियो ।
विभिन्न आरोह अवरोहका बिच पनि एसएलसी पास गरेका आशकाजी विदेशको कमाइले पनि सन्तुष्ट भएनन् । आशकाजी झण्डै ४ वर्ष विदेश बसे, त्यसपछि गाउँमै केही गर्छु भनेर अनुभव सहित घर फर्के ।
पढेलेखेका आशकाजी विदेशबाट फर्केपछि ऊर्जा विकास कम्पनीमा आबद्ध भएर काम गरे । उक्त कम्पनीमा उनले १६ वर्ष बिताए । आशकाजी त्यसमा पनि सन्तुष्ट भएनन् । त्यसपछि उनले खेतीपाती गर्न सुरु गरे ।
शिक्षक, परदेशी र ऊर्जा विकासको कर्मचारी बनेका उनले धेरै अभाव झेले र धेरै अनुभव बटुले । अनि थोरै थोरै गर्दै खेतीपाती गर्न थाले ।
उनी भन्छन्, ‘२०४५ मै एसएलसी पास गरेको थिएँ, त्यसपछि शिक्षक बनेँ तर यसमा टिक्न दिएनन् । अनि विदेश गए त्यहाँ पनि काम गर्न मन लागेन अनि अहिले खेतीपाती गर्छु, खुसी छु ।’
कृषि विषयमै एसएलसी पास गरेका आशकाजीलाई खेती किसान त अब्बल पेसा भयो । ज्ञान, अनुभव र सिप भए खाली बस्नु नपर्ने उनी बताउँछन् ।
उनी भन्छन्, ‘काम सानो ठुलो हुँदैन, परि आए आफूले जस्तो सुकै काम पनि गर्नुपर्छ । धेरै कुराको अनुभव र भोगाइबाट दिक्क छु तर कृषि पेसामा खुसी छु ।’
उनले गरेको पेसामा घर परिवार सबैको सर्पोट छ । तरकारी खेती मात्रै होइन, श्रेष्ठ परिवारले घरमै तोरी मिल र धान मकै कुटानी पिसानी मिल पनि सञ्चालन गरेका छन् ।
उनी भन्छन्, ‘एक्लै त कहाँ सकिन्थ्यो र ? छोरा, श्रीमती र छोरीहरूले सघाउँछन्, काम गर्न पनि आनन्द लाग्छ ।’
खेतीपाती मात्रै होइन, आशकाजीको पशुपालनमा पनि उत्तिकै रुचि छ । उनले बाख्रा, भैँसी र कुखुरा पनि पालेका छन् ।
उनी थोरै थोरै गरेर भए पनि तरकारी, मिल र पशुबाट आम्दानी गर्छन् । उनी मासिक १ लाख जति आम्दानी गर्छन् ।
उनी भन्छन्,‘काम त अरु पनि गरेँ तर यसमै खुसी लाग्छ, यही पेसाबाट घर खर्च पनि चल्छ, केही बचत पनि गर्छु ।’
श्रेष्ठले करिब दुई रोपनी जग्गामा तरकारी लगाएका छन् । उनी सिजन अनुसारको तरकारी र अन्य अन्नबाली फलाउँछन् । आशकाजीको बारीमा अहिले काउली, बन्दा, आलु, लसुन, प्याज र तोरी जस्ता मौसमी खेती छन् ।
प्राङगारिक मलको प्रयोग
आशकाजी आफूले लगाएको खेतीमा रासायनिक मल प्रयोग गर्दैनन् । कृषि विषय नै पढेका उनलाई रासायनिक मलले फाइदा भन्दा बेफाइदा धेरै हुन्छ भन्ने बुझेका छन् । उनी खेतीलाई राम्रो बनाउनको लागि घरमै प्राङगारिक मल बनाउँछन् र त्यही प्रयोग गर्छन् ।
उनी भन्छन्, ‘म रासायनिक मल प्रयोग गर्दिनँ, यसले फाइदा भन्दा घाटा धेरै गर्छ, घरमै पात कुहाएर, गाई बस्तुको गोवर र तोरीको पिना मिसाएर तरकारीमा हाल्छु ।’
बारी छेउमै मर्स्याङ्दी तर प्रयोग विहीन
श्रेष्ठको खेत तलैबाट मर्स्याङ्दी नदी बग्छ । उनको खेत माथि नदी तल हुँदा मस्र्याङदिको पानीले उनको बारी सिँचाइ हुँदैन । सबै कुरामा सहज भएको उनलाई सिँचाइको भने सुविधा छैन ।
मर्स्याङ्दीको पानी पाइपबाट आउँदैन, कुलोमा पनि पानी छैन । उनी भन्छन्, ‘नदी बारीछेउमै छ,तर प्रयोग गर्न समस्या छ, पाइपबाट पानी माथि आउँदैन, भएको कुलोमा पनि पानी छैन ।’
आशकाजी स्थानीय सरकारसँग सन्तुष्ट छैनन् । उनलाई स्थानीय सरकारबाट कृषकले पाउने सेवा सुविधा दिइएको छैन । हुन त उनको धेरै ठुलो माग पनि छैन । उनलाई चाहिएको मस्र्याङदिमा खेर गइरहेको पानी र स्थानीय सरकारबाट पाइने अनुदान मात्रै हो ।
उनी गुनासो गर्दै भन्छन्, ‘कृषकहरूलाई सरकारबाट सहयोग भएको छैन । अनुदान पनि पाइन्न, पाइए पनि समयमै आउँदैन ।’
स्थानीय सरकारले सहयोग गरे कृषिमा राम्रो गर्न सकिने उनको बुझाई छ । उनी कृषकलाई तालिम लगायतका अन्य सेवा सुविधा दिन स्थानीय सरकारसँग माग गर्छन् ।
उनी भन्छन्,‘सरकारबाट सेवा सुविधा पाइयो भने म जस्ता कैयौँ कृषकहरूलाई प्रेरणा मिल्ने छ ।’
आशकाजी अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि कृषि पेसामा साथ दिउन् भन्ने चाहन्छन् । उनी युवाहरूलाई गाउँघरमै खेतीपाती गरेर भए पनि जीवन चलाउन र विदेश नजान सुझाव दिन्छन् ।