विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले रु चार अर्ब ७६ करोड बराबर रकमान्तर र रु सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको अवधिमा विभिन्न आठ वटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसरी खारेज गर्ने निर्णय भएका निर्वाचन कार्यालयलाई साबिकको अवस्थामा कायम गर्न सरकारले रकमान्तर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, केन्द्रीय कृषि प्रयोगशालालगायत निकायका लागि रकमान्तर गरेर बजेट दिइएको छ ।
उक्त अवधिमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिको अवस्था हेर्दा रु आठ अर्ब ९७ करोड ४८ लाख बराबरको स्रोत सुनिश्चितता दिइएको छ । अर्थ मन्त्रलालका अनुसार गत मङ्सिरमा विभिन्न सातवटा आयोजना तथा कार्यक्रमका लागि रु सात अर्ब ६४ करोड ४८ लाख र कात्तिकमा एउटा आयोजनाका लागि रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । गत साउनदेखि असोज महिनासम्ममा भने बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको देखिँदैन ।
गत कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु एक अर्ब ३३ करोड बराबरको स्रोत सहमति दिइएको छ । त्यसैगरी मङ्सिरमा डुम्रे–बेँसीसहर– चामे सडक आयोजना, सालझण्डी–सन्धीखर्क–ढोरपाटन आयोजना, कोशी करिडोर (बरुण–च्यामताङ सडकखण्ड), धनगढी–खुटिया–दिपायल सडक र गँगटे–लब्धु–समुद्रटारपाटी सडकका लागि स्रोत सहमति दिइएको छ ।
त्यस्तै राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि रक्षा मन्त्रालयलाई र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्स–रे मेसिन जडानका लागि अर्थ मन्त्रालयलाई पनि थप रकम उपलब्ध गराउने सहमति दिइएको छ । सरकारले गत साउनदेखि मङ्सिरसम्म विभिन्न दुई वटा शीर्षकमा आर्थिक सहायता दिएको छ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत भुक्तानीका लागि रु नौ लाख ९५ हजार नौ सय ३५ बराबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ ।
इजरायलमा आतङ्कवादी समूह आक्रमणमा ज्यान गुमाएका परिवारलाई सहायतास्वरुप प्रतिपरिवार रु १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराउन रु एक करोड निकासा गरेको छ ।