प्रदेश मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग मागे अधिकार

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् । संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका उनीहरुले बिहान प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संघियता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार हेटौँडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको ९ बुँदे साझा पत्र बोकेर काठमाडौं आएका मुख्यमन्त्रीले साझा पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका हुन् ।

९ बुँदे साझा पत्र कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गर्ने सातै प्रदेशका मुख्यमन्त्रीले चेतावनी दिएका छन् । उनीहरुले पोखरामा बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै बैठकले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक स.घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताए । ‘तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति संघर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु,’ उनले भने, ‘संघीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो ।’

संसद्मा सहभागी सबै दललाई पनि सहमत गराएर संघीयतालाई कायान्वयन गर्न खोज्दा केही समय लागेको उनले बतँए । ‘वर्तमान सरकारले संघीय निजामती ऐन, सङ्घीय शिक्षा ऐन, प्रहरी समायोजन ऐनलगायत संघीयता कार्यान्वयनसम्बन्धी ऐन निर्माणका लागि द्रुत गतिका साथ काम गरिरहेको यहाँहरुलाई जानकारी नै छ”, प्रधानमन्त्री प्रचण्डले भने,‘विधेयकहरू प्रस्तुत पनि भइसकेका छन्, अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष तहमा छलफल गरेर त्यसलाई टुङ्गो लगाउन थप पहल गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *