मेलम्चीको पानी चाँडो वितरण नगरे काठमाडौँ विस्फोट हुनसक्ने अवस्था छ : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् ।
उनले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताए । उनले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गरे ।
उनले पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिई चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताए ।
उनले भने ‘काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको छ । एकातिर जनसंखया बढिरहेको छ, बस्ती बिस्तार भइरहेको छ तर पानीको सप्लाई गर्ने क्षमतालाई सरकारले पूरा गर्न सकिरहेको छैन । मेलम्चीको कथाहरू तीन दशकअघिदेखि सुन्दै आइरहेका छौँ । तर अहिलेसम्म पूरा हुन नसक्नु देशको लज्जाको विषय हो । अहिलेसम्म पनि पूरा नहुँदा काठमाडौंमा पानीको हाहाकार भइरहेको छ । पानी मान्छेको जीवन हो । पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिनुपर्छ, युद्धस्तरमा काम गर्नुपर्छ । केयुकेएलबाट सप्लाइ भइरहेको पानीले हाम्रो आवश्यकता परिपूर्ति भइरहेको छैन । चाँडो भन्दा चाँडो मेलम्चीको पानी यसमा जोड्नुपर्ने हुन्छ । यो पुरानो सिस्टम थोत्रो भएको नयाँ सिस्टम बनाइएको छ, जोडिएको छैन, जोडियोस् । मेलम्चीको पानी चाँडो भन्दा चाँडो युद्धस्तरमा काम गरेर सरकारले जनतालाई खानेपानीको बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्न नसकिए काठमाडौं विस्फोट हुनसक्ने अवस्था छ । मान्छेले आफ्नो जीवन बचाउन नपाए जे पनि गर्नसक्छ, यो कुरा सरकारले बुझोस् । यो चेतावनी र आग्रह हो ।’
पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको बताए ।