अर्थतन्त्रमा ‘असाधारण डेडलक’ देखियो : परिसंघ
काठमाडौँ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गरेको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिसंघले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्थाबारे गरेको सर्वेक्षण नतिजा सार्वजनिक गरेको हो ।
परिसंघले गरेको सर्वेक्षणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको देखाएको छ । परिसंघ अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक अवस्था सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रमा सुधार भएको दाबी गरेपनि परिसंघको सर्वेक्षणले सुधार भएको नदेखाएको बताएका हुन् ।
उनले कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागेको र समग्र बजार माग खस्किरहेको देखिएको दाबी गरे । उनले अर्थतन्त्रमा आएको मन्दीको कारण उद्योगहरूको कच्चा पदार्थको आयातमा समेत गिरावट आएको उल्लेख गरे ।
उनले परिसंघको सर्वेक्षणले औद्योगिक उत्पादनको समग्र बजार मागमा अघिल्लो वर्ष २८.२८ प्रतिशतले ह्रास आएकोमा चालु आवको सोही अवधिमा थप १२.०६ प्रतिशतले घटेको देखिएको बताए ।
अध्यक्ष अग्रवालले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा उद्योगहरूको समग्र मागमा कुल ३६.९३ प्रतिशतले सङ्कुचन देखिएको उल्लेख गरे । उनले गत आर्थिक वर्षको तुलनामा उद्योगहरूको कारोबार रकम पनि ३०.५४ प्रतिशतले खुम्चिएको बताए ।
अध्यक्ष अग्रवालले अर्थतन्त्रको प्रतिकुल अवस्थाका कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५.३२ प्रतिशत उद्योगी व्यवसायीहरूले आफ्ना लगानीका योजनाहरू स्थगित गरेको सर्वेक्षणले देखाएको बताए ।
अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्र असाधारण खालको डेडलक देखिएको बताए । उनले अर्थतन्त्रमा बैंकको ब्याजदर घटे पनि बजार माग बढे पनि अर्थतन्त्र सुधार हुने अवस्थामा नभएको परिसंघको धारणा रहेको बताए ।
उनले अर्थतन्त्रमा देखिएको असाधारण खालको डेडलकलाई सुधार गर्न गर्नुपर्ने उपायको खोजीमा अर्थतन्त्रका जानकारहरूसँग छलफल गर्ने तयारीमा रहेको बताए । उनले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरे ।
उनले तीन त्रैमासिकदेखि अर्थतन्त्र नेगेटिभ ग्रोथमा चलिरहेको बताए । सरकारले अर्थतन्त्र सुध्रिएको दाबी गरिरहेको तर आफू अनुकुल विवरण मात्रै देखाउने गरेको उल्लेख गरे । उनले बजारमा मागमा आएको उच्च गिरावटले अर्थतन्त्रलाई मन्दीमा लगेको प्रमाणित हुने दाबी गरे ।
उनले बजारमा मागको कमी अन्तर्राष्ट्रिय रुपमा मूल्य वृद्धि भएकाले भएको बताए । उनले बजार मूल्यलाई नियन्त्रण गर्न सरकारको नीतिले नसकेको बताए ।
कोभिडको समयमा राष्ट्र बैंकले लिएको खुला नीतिलाई कडाइ गरेकाले माग घट्न गएको अध्यक्ष अग्रवालको भनाई छ । उनले बजारको माग बढाउने वा घटाउने भन्ने सरकारको नीतिमा निर्भर हुने उल्लेख गरे ।
उनले सरकारले पुँजीगत खर्च गर्नसके मात्रै मुलुकको अर्थतन्त्र चलायमान बनाउने बताए । अर्थतन्त्र सुधार गर्नको लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भएपनि खर्च बढाउन नसकेको निष्कर्ष उनको छ ।
उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने ४० अर्ब रुपैयाँको भुक्तानी सरकारबाट हुन आवश्यक रहेको बताए । उनले सरकारले बैंकको ब्याजदर घटाउने कुरा गरिरहेको भएपनि सरकार आफैँ साधारण खर्च धान्नको लागि बजारबाट पैसा उठाई रहेको दाबी गरे ।
उनले भने ‘बजारमा मागको कमी अन्तर्राष्ट्रिय रुपमा मूल्य वृद्धि भयो । त्यसलाई नियन्त्रण गर्नको लागि माग घटाउने ब्याज बढाउने नीति अर्थतन्त्रको सिद्धान्त हो । त्यो नीतिमा राष्ट्र बैंक गयो । कोभिडको समयमा खुला नीति लिएको थियो त्यसलाई कडाइ ग¥यो । त्यही नीतिको असर माग घट्नु हो । यस सरकारको तथ्याङ्कले देखाएको छ । बजारको माग बढाउने वा घटाउने भन्ने सरकारको नीतिमा निर्भर पर्छ । सप्लाई साइटको मूल्य वृद्धिलाई सरकारको नीतिले नियन्त्रण गर्न सक्दैन । सरकारको पुँजीगत खर्चले मुलुकको अर्थतन्त्र चलायमान बनाउने हो । सरकारले पुँजीगत खर्च त्यति धेरै गरिरहेको छैन । अर्थतन्त्रलाई एउटा मात्रै क्षेत्रले प्रभाव पारेको हुँदैन । बैंकको ब्याजदर एउटा फ्याक्टर हो । बैंकको ब्याजदर घट्दा उद्योगहरूको लागत कम हुन्छ भन्ने हो । पहिलो कुरा सरकारको पुँजीगत खर्च हुनुपर्छ । निर्माण व्यवसायीहरूले सरकारबाट पैसा पाउनुप¥यो र नयाँ ठेक्का लाग्नुप¥यो र सरकारको पैसा बजारमा आउनुपर्छ । सरकारले बैंकको ब्याजदर घटाउने कुरा गरिरहेको छ तर सरकारले साधारण खर्चको लागि बजारबाट पैसा उठाइरहेको छ । त्यसले बैंकको ब्याजलाई पूर्ण रुपमा घट्न दिइरहेको छैन । व्यवसायीहरूको बजारमा फसेको पैसा नउठ्ने समस्याले बैंकबाट ऋण लिन व्यवसायीहरूले पनि सकेको छैनन् भने बैंकमा तरलता भएपनि खराब कर्जा वृद्धि हुने डरले कर्जा प्रवाह गर्न सकिरहेका छैनन् । यसले गर्दा अर्थतन्त्रमा असाधारण खालको डेटलक भएको जस्तो लागि रहेको छ । अर्थतन्त्रमा जे गरेपनि नहुने अवस्था छ । हामीले पनि अर्थविद्हरूसँग अर्थतन्त्रमा असाधारण खालको डेटलक हुँदा के गरेर अर्थतन्त्र माथि लैजान सकिन्छ भनेर छलफल गर्ने सोचिरहेका छौं । निजी क्षेत्रले बैंकबाट कर्जा लिन सकेन भनिएको छ । निजी क्षेत्र कर्जा लिनसक्ने स्थितिमा छैन । बैंकमा पैसा छ,ब्याजदर घटेको छ तर पनि अर्थतन्त्र चलायमान भएको छैन । सरकारका धेरै पहिलाका नीतिको कारण अर्थतन्त्रमा असर परेकाले ब्याजदर घट्दैमा अर्थतन्त्र चलायमान हुँदैन । अर्थतन्त्र चलायमान हुन समय लाग्छ ।’
अध्यक्ष अग्रवालले सरकारले बजारबाट पैसा उठाइरहेकाले पनि बैंकको ब्याजलाई पूर्ण रुपमा घट्न नपाएको बताए । उनले व्यवसायीहरूको बजारमा फसेको पैसा नउठ्ने समस्याले बैंकबाट ऋण समेत लिन नसकेको बताए । बैंकमा तरलता भए पनि खराब कर्जा वृद्धि हुने डरले बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको दाबी उनको छ ।