जयशंकरको टाउकोमा गोली हान्ने वरिष्ठ हवल्दार जिल्ला तानिए
काठमाडौं । सर्लाहीको बरहथवा घटनामा गोली चलाउने प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय तानिएका छन् । हवल्दार यादव इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत थिए ।
शुक्रबार दिउँसो प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा विवाद भएर झडप हुँदा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । उनको टाउकोमा गोली लागेको छ ।
उनको शव तीन दिनदेखि घटनास्थलमै छ । घटना हुँदा प्रहरीले गोली चलाएको भएपनि जिल्ला प्रशासन कार्यालयले भने गोली चलाउन कुनै आदेश नै नदिएको बताउँदै आएको छ । उक्त घटनापछि यसबारे थप बुझ्न यादवलाई जिल्ला तानेर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रविण धितालले जानकारी दिए ।
उक्त घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला तानेसँगै निलम्बन गर्ने तयारीसमेत भइरहेको उनले बताए । स्थानीयले भने प्रहरी वरिष्ठ हवल्दार यादवले साहलाई ताकेर गोली प्रहार गरेको आरोप लगाएका छन् ।
मृतक साहको शव उठाउन परिवार, प्रदर्शनकारी र प्रशासनबीच छलफल भइरहेको छ । सहमति हुन नसक्दा शव घटनास्थल मै राखिएको छ । निरन्तर छलफल भइरहेपनि सहमति हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनले बताए ।
मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।