बाक्लो हुस्सु लागेको बेला तीव्र गतिका बाइक ठोक्किए, दुवै चालकको मृत्यु
काठमाडौं । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएका दुई मोटरसाइकल आपसमा ठोक्किएर महोत्तरीको औरहीमा दुर्घटना भएको छ । तीव्र गतिमा रहेका चालकले एकअर्कालाई नदेख्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हाे ।
बर्दिबास-जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पछाडि सवार दुई जना घाइते छन् ।
औरही नगरपालिका-१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे बर्दिबासबाट रामगोपालपुर तर्फ जाँदै गरेको प्रदेश २-०२-००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबास तर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका-३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।
दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो ।