एन्फा यु–१६ यूथ लिग फुटबल : एपिएफको पोस्टमा संकटाको सात गोल
काठमाडौँ । संकटा क्लबले जारी एन्फा यु–१६ यूथ लिग फुटबलमा मङ्गलवार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा मङ्गलवार संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो ।
कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो । यो जितसँगै संकटा ९ खेलबाट १९ अङ्क बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ ।
संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अङ्कसहित दोस्रो स्थानमा छ । खेलको ११ औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।
५३ औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए ।
तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहोर्यो । संकटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१ औं मिनेटमा गरे ।
कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यससँगै संकटाले जारी लिगमा छैटौँ जित निकाल्यो । आठौँ खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।