चिसोबाट बालबालिकालाई कसरी जोगाउने ?
काठमाडौँ । जाडो मौसममा हाम्रो स्वास्थ्यमा विभिन्न समस्याहरू देखा पर्छन् । चिसोमा जब हामी आफ्नो स्वास्थ्यको ख्याल नराखी बेवास्ता गर्छौ तब रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर हाम्रो स्वास्थ्यमा समस्याहरू देखापर्न थाल्छन् । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूमा यस्तो समस्या बढी देखिन्छ । उनीहरूमा प्रतिरोधात्मक क्षमता कमजोर भएकै कारण रागहरूले चाँडो आक्रमण गर्दछ ।
विशेषगरी साना बालबालिकाहरूलाई जाडोमा कस्ता स्वास्थ्य समस्याहरू देखिन्छन् त ? उनीहरूलाई यस्ता समस्याबाट कसरी जोगाउने ? कस्ता उपाएहरू अपनाउने ? कस्ता नअपनाउने ? ति र त्यस्ता विषयमा मकालु खबरले काठमाडौँ मेडिकल कलेजका बालरोग विशेषज्ञ डा.पावना कायस्थसंग गरेको कुराकानी यसप्रकार रहेको छ ।
जाडो मौसममा बालबालिकाहरूलाई देखापर्नै समस्याहरू
- रुघाखोकी
- अचानक ज्वरो आउने, टाउको दुख्ने
- श्वासप्रश्वासमा समस्या आउने
- छाती दुख्ने
- घाँटी दुख्ने
- नाकबाट पानी बग्ने
- झाडापखाला लाग्ने
- घ्यारघ्यार हुने
- छाला फुट्ने, सुक्खा हुने, चिरिने
- बच्चाले आमाको दूध नखाने, रुने
- एलर्जी हुने लगायतका लक्षणहरू देखा पर्दछन् ।
विशेषज्ञ कायस्थले सुरुमा रुघाखोकी लाग्ने तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्याहरूको जोखिम रहने बताइन् ।
रोकथाम र नियन्त्रणका उपायहरू
- न्यानो कपडा लगाइदिने
- प्रतिरक्षा शक्ति बढाउन पोषणयुक्त खानेकुराहरू खुवाउने
- तातोपानी र झोलिलो पदार्थहरू खानदिने
- बिहानीको घाम (भिटामिन ‘डी’) मा बसाउने
- मौसम अनुसारको फलफूल र सागसब्जीहरू खुवाउने
- बाहिरबाट कोही मानिस घरमा जाँदा आफूले लगाएको लुगा, कपडा फुकालेर मात्रै बच्चासँग भेट्ने
- बच्चालाई भेट्नुअघि हात अनिवार्य धुने
- रुघाखोकी लागेका व्यक्तिबाट टाढा राख्ने
- वेला–वेलामा साबुनपानीले हात धोइदिने
- चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाइदिने
- बाहिर हिँड्दा मार्सको प्रयोग गराउने आदि
जाडोमा बालबालिकाको स्वास्थ्यको हेरचाह गर्दा गर्नै नहुने कामहरू
- घरभित्रै हिटर वा आगो बालेर बालबालिकाहरूलाई गुम्साएर नराख्ने, त्यसो गरेमा बालबालिकाहरूमा अझै श्वास प्रश्वासको समस्या देखिन सक्छ ।
- खानामा विविधीकरण गरेर खुवाउने
- जङ्ग फुडहरू खान नदिने
- खानामा भात र तरकारीको मात्रा बराबर राख्ने
- शिशुहरूलाई जाडो हुन्छ भनेर गुटमुटाएर नराखिने । उनीहरूको शरीरलाई ठिक्क न्यानो हुने गरि राख्नुपर्छ । नत्र त्यही पसिना भिजेर फेरि चिसो हुनसक्छ । उनीहरूको हातखुट्टा न्यानो भएमा तापक्रम सामान्य छ भनेर थाहा पाउन सकिन्छ ।
डा. कायस्थले चिसोको कारण बालबालिकाहरूमा स्वास्थ्य समस्याहरू बढ्दै गएमा नजिकैको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह बमोजिम औषधि उपचार गराउन सल्लाह दिइन् ।