टिआरसी विधेयक सहमतिमा नटुङ्गिए ‘एग्रि टु डिसएग्रि’ भएर जाऔँ : रमेश लेखक

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी अधिवेशनको पहिलो दिन नै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा पेस गर्नुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पीडितको कुरा पनि अब सुनिसकेकाले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने बताए ।

उनले पीडितहरूले अब धैर्यता गर्न नसकिने भनिरहेकाले संसद सञ्चालन हुनु भन्दा पहिला नै सहमति जुटाएर संसदमा पेस गर्न आवश्यक रहेको बताए ।

उनले पीडितहरूले टिआरसी विधेयकमा शब्दमा खेलेर राजनीति नगर्न चेतावनी दिइरहेका र विश्वमञ्चले पनि बारम्बार जिज्ञासा राख्ने गरेकाले यो विषयलाई चाँडै टुंगो लगाउनुपर्ने बताए ।

उनले सहमति नजुटे प्रक्रियामा जानुपर्ने र प्रक्रियामा जानका लागि कुनै डर मान्नुपर्ने अवस्था नरहेको बताए ।

उनले भने ‘आउने अधिवेशनको पहिलो दिनमा यो विधेयक मान्य सभापतिज्यूले प्रतिवेदनसाथ हाउसमा प्रस्तुत गर्नुपर्छ । किनभने पीडितको कुरा पनि हामी सुनिरहेका छौँ, अब उहाँहरुले हामी अब संयमित हुन सक्दैनौँ, अब धैर्यता हुन सक्दैन । अब तपाईँहरूले यसलाई पास गर्नुस् भन्नुभएको छ । अस्ति त धेरै ज्यादा शब्दमा खेलेर राजनीति गर्नुभयो भने ठिक हुँदैन, हामी आन्दोलन गर्छौं भन्नुभएको छ । इन्टरनेशनल कम्युनिटीको कुरा गर्दा भेट भयो की ट्रान्जिसनल जस्टिस कहिले टुङ्ग्याउने भन्छ, झुटो कति बोल्नु ? १७ वर्षसम्म भएन । देशभित्रको मिडियाको त्यही जिज्ञासा छ । नागरिक समाजको त्यही जिज्ञासा छ । अब यसलाई कति दिनमा हप्ता, १० दिन, १५ दिन यो हाउस चल्नु भन्दा पहिला कति दिनसम्म हामी आपसमा औपचारिक, अनौपचारिक रूपले, समितिको बैठक बसेर, दुई चार जना मानिस छुट्टै बसेर वा अनौपचारिक रुपमा थोरै कुरा गरेर नेताहरूलाई कुरा गरेर जसरी हुन्छ यसलाई हप्ता १० दिन मा सहमतिमा टुङ्ग्याऔँ । सहमतिमा नटुङ्गिए एग्रि टु डिसएग्रि भएर जाऔँ । अब प्रोसेसमा जाऔँ । प्रोसेसमा जानुपर्ने कुरामा धेरै डर मान्नुपर्ने कुरा छैन । बजेटमै डिभिजन गरिसकेका छौँ । कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो हुँदैन । प्रक्रियामा गएर भनेपनि टुङ्ग्याउनुपर्छ ।’

प्रमुख सचेतक लेखकले कुनैपनि विधेयकलाई अनावश्यक रोकिरहने कुरा राम्रो नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *