वनमन्त्री र विश्व खाद्य तथा कृषि संगठन प्रमुखबीच बाँस खेतीबारे छलफल
काठमाडौँ । विश्व खाद्य तथा कृषि संगठन प्रमुख क्यु दोङ युले वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने र अनुकूलनको कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको हो ।
प्रमुख युले नेपालमा बाँस खेतीको सम्भावना धेरै रहेकाले राष्ट्रिय कार्यक्रम नै बनाएर अघि बढ्न सुझाव दिए । गरिबीको रेखामुनिको जनसङ्ख्याको जीवनस्तर उकास्न, जैविक विविधताको संरक्षण गर्न, भूक्षय रोक्नका साथै जलवायु परिवर्तनको असर कम गर्न बाँस खेती विकल्प हुनसक्ने सुझाव दिए ।
नेपालमा खेती नगरिएका र बाँझो जमिनको उपयोगमा ध्यान दिन आवश्यक रहेको बताए । स्थानीय तथा प्रदेश सरकारले कृषि वनको कार्यक्रमलाई बढवा दिनुपर्ने बताए । जैविक विविधताको संरक्षण र खाद्य सुरक्षामा कृषि कार्यक्रम प्रभावकारी हुने बताए ।
भेटमा वन तथा वातावरणमन्त्री डा.महतोले खाद्य, जल, ऊर्जा, वन र जैविक विविधतालाई एकीकृत रुपमा अगाडि बढाउने कार्यक्रम नेपाल जस्ता बहुआयामिक जोखिम भएका मुलुकमा आवश्यक रहेको बताए । यस्ता विषयलाई समेटेर कार्यक्रम बनाउन प्रमुख युलाई आग्रह गरे ।
विश्व खाद्य तथा कृषि सङ्गठनका प्रमुख यु नेतृत्वको टोली तीन दिने भ्रमणको लागि काठमाडौं आएको हो । प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल र कृषि तथा पशुपक्षी विकासमन्त्री डा। वेदुराम भुसालसँग भेट गरिसकेको छ ।
विश्व खाद्य कार्यक्रमले आज अपराह्न भविष्यको स्मार्ट बाली सम्बन्धी नीति संवाद गर्दैछ । विश्व खाद्य कार्यक्रमले नेपालमा सन् १९५१ देखि काम गर्दै आएको छ । यो नेपालमा काम गर्ने संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको पहिलो नियोग हो । विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक श्रोत व्यवस्थापन, दिगो कृषि र ग्रामीण विकासमा काम गरिरहेको छ ।