क्यासिनोमा जुवा खेल्दा विवाद, बाहिर निस्केपछि खुकुरी हानाहान

विराटनगर । विराटनगरको एक क्यासिनोमा जुवा खेलेर निस्किएका युवाबीच खुकुरी हानाहान भएको छ । विराटनगर महानगरपालिका-११ को बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाबीच शनिबार बिहान १ बजेतिर खुकुरी हानाहान भएको हो ।

झडपमामा विराटनगर-११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् । उनको टाउको र देब्रे कानमा चोट लागेको छ । घटनामा संलग्न झापाको घैलाडुब्बा घर भई विराटनगर-८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन् । क्यासिनो भित्र विवाद गर्न थालेपछि युवाहरुको समूहलाई बाउन्सरले बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो ।

दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथी हुन् । कानुनतः क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर, विराटनगरको रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ क्यासिनोमा नेपाली युवाहरूले जुवा खेल्न पाइने स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *